बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

शपथ लिएकै भोलिपल्ट सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी अल्पमतमा

दैनिक नेपाल २०८१ वैशाख ७ गते ११:३०

काठमाडौं, ७ वैशाख । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेकपा (एकिकृत समाजवादी) प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी शपथ लिएकै भोलिपल्टै अल्पमतमा पर्नुभएको छ ।

नागरिक उन्मुक्ति पार्टीको रञ्जिता श्रेष्ठ खेमाका एक जना प्रदेश सभा सदस्यले समर्थन फिर्ता लिएको घोषणा गरेपछि सोडारी अल्पमतमा पर्नुभएको हो ।

मन्त्री पदको शपथका लागि प्रदेश प्रमुखको कार्यालय बोलाएको तर बिना विभागीय मन्त्री बनाउने र मन्त्रालय फुटाएर विभाग तोक्ने भनेर अपमान गरेको भन्दै प्रदेश सभा सदस्य टीका थापाले समर्थन फिर्ता लिएको घोषणा गर्नुभएको छ ।

‘मलाई मन्त्रीको शपथ खाने भनेर प्रदेश प्रमुखको कार्यालयले बोलायो, पछि बिनाविभागीयमा शपथ खान भनियो । मन्त्रालय तोडफोड गरेर विभाग तोक्ने भनियो । मलाई अपमान महसुस भयो, प्रदेश संरचनाका बारेमा जनता निराश रहेका बेला मन्त्रालय तोडेर मन्त्री खान मन लागेनँ, त्यसैले सोडारीलाई दिएको समर्थन फिर्ता लिएको छु ।’ उहाँले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

सोडारी माओवादीका १०, एमालेका १०, समाजवादीका ४, स्वतन्त्र १ र २ जना नागरिक उन्मुक्ति (रञ्जीता पक्ष) का गरी २७ जनाको बहुमत पाउने भन्दै सरकारमा जानुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित