बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

कांग्रेस सांसद खड्काले कब्जा गरेको स्काउटको जग्गामा सिलबन्दी

दैनिक नेपाल २०८१ वैशाख ७ गते ११:१२

काठमाडौं, ७ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभाका सांसद दीपक खड्काले कब्जा गरेको नेपाल स्काउटको जग्गा तथा अन्य संरचनामा प्रशासनले सिलबन्दी गरेको छ ।

बिहीबार राति प्रहरीसहित पुगेको प्रशासनको टिमले लैनचौर बैंक्वेटसहितका भवनमा सिलबन्दी गरेको हो ।

स्काउटको तीन रोपनी जग्गा भाडामा लिएका कांग्रेस सांसद खड्काले थप ९ रोपनी जग्गासमेत कब्जामा लिनुभएको थियो ।

सांसद खड्का सञ्चालक रहेको खड्का ल्यान्ड डेभलपमेन्टले स्काउटसँग २०६५ मा सम्झौता गरी ३ रोपनी जग्गा १० वर्षका लागि भाडामा लिएको थियो ।

सम्झौताको म्याद २०७५ मै सकिए पनि खड्काले अहिलेसम्म जग्गा छोड्नुभएको थिएन ।

उहाँले सम्झौताअनुसार भाडाबापतको ६ करोड ३० लाख १८ हजार रुपैयाँ भुक्तानी नगरेको स्काउटले आरोप लगाइरहेको छ । खड्काले आफूले लिएको जग्गा र भवन अरूलाई भाडामा लगाइरहेको पाइएको छ ।

स्काउटको सम्पत्ति खाली गर्न अदालतले यसअघि नै आदेश दिए पनि सरकारले खड्कालाई अहिलेसम्म हटाएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित