बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

मुगुकी नुन्दुले ८० वर्षको उमेरसम्म पनि पाइनन् नागरिकता, राज्यका सुविधाबाट बञ्चित

दैनिक नेपाल २०८१ वैशाख ६ गते ९:३१

मुगु, ६ वैशाख । उमेरले आठ दशक पुग्नुभएको मुगुकी नुन्दु कामीले अझैसम्म नागरिकता पाउन सक्नुभएको छैन् । ३५ वर्ष पहिले श्रीमान्को निधन भएपछि बोल्न नसक्ने नुन्दुले वर्षौँदेखि राज्यको निकायलाई गुहार लगाउँदा पनि नागरिकता पाउनुभएको छैन् ।

नागरिकता नहुँदा उहाँले राज्यबाट पाउने सबै सुविधाबाट बञ्चित हुनुपरेको छ । उहाँले अहिलेसम्म न एकल महिला भत्ता पाउनुभएको छ, न त बुढेसकाल लागेपछि पाउने अन्य सामाजिक सुरक्षा नै । उहाँको नागरिकता नभएकै कारण उहाँका छोराले पनि नागरिकले पाउने सुविधाबाट बञ्चित हुनुपरेको छ ।

मुगुको मुगूम कार्मारोङ गाउँपालिका–५ सेरोग गाँउकी नुन्दु कामीले ३५ वर्ष पहिले नै श्रीमान् सोनाम तेन्जिङलाई गुमाउनुभयो । उहाँ पहिलेदेखि नै बोल्न सक्नुहुन्न । उहाँका दुई छोरामध्ये पनि जेठा छोला शिलाजित खोज्न जाने क्रममा १८ वर्ष पहिले नै भिरबाट लडेर बित्नुभयो । आमाकै नागरिकता बनाउन दशकदेखि लागेका नुन्दुका कान्छा छोरा ३२ वर्षीय योदान ग्याम्जो कामीले नागरिकता पाउने कुरै भएन ।

हाल न आमा छोराको नागरिकता छ, न त बुहारी छिमेक साग्मु कामी कै । नागरिकता नबन्दा राज्यले प्रदान गरेको सेवा सुविधा पाउन नसकेको ग्याम्जो कामीले बताउनुभयो ।

‘म सानै छँदा बुबाको मृत्यु भयो । उहाँको पनि नागरिकता रहेनछ । पुर्खादेखि नै हामी यही थलोमा बस्दै आएका छौँ । आमा बोल्न सक्नुहुन्नँ । बिहेपछि बुवाले न आमाको बिहे दर्ता गराएछन् न नागरिकता नै छ । अहिले नागरिकता नहुँदा हामीले जति दुख कसले पाएको होलार !’ ग्याम्जोले थप्नुभयो, ‘हामी पढेलेखेको छैनौँ, एउटाले यो गर भन्छ अर्कोले त्यो गर भन्छ । वडादेखि माथिसम्म पुग्यौं, तर नागरिकता बनाउनै नसकेपछि बिचमा धाउनै छोड्या हुम । आमाले ८० वर्षको उमेरमा पनि नागरिकता पाइनन् । अब त बन्छ कि !’

नागरिकता नहुँदा आमाले राज्यबाट पाउने सेवा सुविधा नपाएको गुनासो गर्नुभएका उहाँले आफ्ना तीन बालबालिकाको समेत जन्म दर्ता गराउन नपाएको दुखेसो सुनाउनुभयो ।

नुन्दुको नागरिकता नहुँदा उहाँले पाएको दुःखलाई स्थानीयले बुझे र हाल सदरमुकाम गमगढीमा रहेको जिल्ला प्रशासन कार्यालयमा नागरिकताका लागि प्रहरी मुचुल्कासहित आवश्यक विवरण बुझाइएको स्थानिय सोनाम तामाङ लामाले जानकारी दिनुभयो ।

यसबारे वडाध्यक्ष दाना साङ्ग तामाङ भन्नुहुन्छ, ‘विगतका वर्षहरुमा के के भयो मलार्इं थाहा भएन । तर, म वडा अध्क्षय भएदेखि यो नागरिकताविहीन परिवारलाई जसरी पनि नागरिता दिलाउन गहनरुपमा उहाँहरुको बारेमा हामीले बुझेर वडा र प्रहरी चौकीको सिफारिस लिएर म आफैँ जिल्ला प्रसासन कार्यालयमा गएको थिएँ । हामी नागरिकता दिलाउन लागिपरेका छौँ ।’

आठ दशकसम्म नागरिकताविहीन नुन्दुबारे जिल्ला प्रहरी कार्यालय, निर्वाचन कार्यलय लगायतमा भएका अभिलेखबारे अनुसन्धान गरिरहेको र यस बारे विवरण पुष्टि हुनासाथ आफूहरुले नागरिकता उपलब्ध गराउने जिल्ला प्रशासन कार्यालय मुगुका सहायक प्रमुख जिल्ला अधिकारी हरिबहादुर खत्रीले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित