बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

एमालेको जनसंगठनहरुले महिला राष्ट्रिय भेला आयोजना गर्ने

दैनिक नेपाल २०८१ वैशाख ६ गते ७:०९

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले)को जनसंगठन समन्वय संयन्त्रको बैठकले जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको छ ।

एमाले केन्द्रीय कार्यालय, च्यासलमा बुधबार बसेको संयन्त्रको बैठकले आगामी जेठ १६ र १७ गते जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरेको संयन्त्रका संयोजक, पार्टी स्थायी कमिटीका सदस्य भानुभक्त ढकालले जानकारी दिनुभयो ।

संयोजक ढकालले दिनुभएको जानकारीअनुसार समग्र महिला आन्दोलनको इतिहास, नेतृत्व र उपलब्धिलाई स्मरणसहित स्थापित गराउन २३ वटै जनसंगठनहरूको महिला राष्ट्रिय भेला आयोजना गर्ने निर्णय गरिएको हो ।

भेलामा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रमुख अतिथिका रूपमा निमन्त्रणा गर्ने निर्णय गरिएको छ ।

उहाँका अनुसार अध्यक्ष केपी शर्मा ओलीले महिला राष्ट्रिय भेलाको समापन गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

बैठकले महिला राष्ट्रिय भेलाको व्यवस्थापनका लागि अनेमसंघका अध्यक्ष टुका हमालको संयोजकत्वमा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ ।

समितिको सचिवमा पार्टीका केद्रीय सदस्य तथा बाग्मती प्रदेश जनसंगठन समन्वय संयन्त्र संयोजक रचना खड्का रहनुभएको छ ।

यसैगरी नेपाल बुद्धिजीवी परिषदका इञ्चार्ज विद्या भट्टराईसहित पेम्बा लामा, जमुना वर्षा शर्मा, सरिता भुसाल, सीता लामा, मन्दिरा श्रेष्ठ, भवानी बजगाई, नन्दा बस्याल र शारदा खनाल सदस्य रहनुभएको छ ।

राष्ट्रिय महिला भेलामा सबै जनसंगठनमा रहेका महिला पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्ला तहसम्मका महिला विभाग प्रमुखलाई सहभागी गराउने मापदण्ड तय गरिएको छ । अनेमसंघको हकमा भने जिल्ला अध्यक्षसम्म मात्रै सहभागी गराउने मापदण्ड पारित गरेको संयोजक ढकालले बताउनुभयो । भेलामा जनसंगठनमा आवद्ध रहेका निर्वाचित महिला जनप्रतिनिधिहरूलाई पनि सहभागी गराउने निर्णय गरेको छ ।

यसैगरी बैठकले पार्टीको महाधिवेशन प्रतिनिधि परिषदको पहिलो बैठकका लागि आवश्यक सबै तयारीका काममा सघाउने निर्णय गरेको छ । यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीस्थित सनराइज हलमा महाधिवेन प्रतिनिधि परिषद्को पहिलो बैठक आयोजना गरिएको छ । बैठकपछि जेठ १० गते पार्टी स्थापना दिवसको अवसरमा गोदावरीमै विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा आफ्नो संगठनको तर्फबाट विशेष रूपमा उपस्थिति गराउन बैठकले सवै जनसंगठनलाई निर्देशन दिएको छ ।

यसैगरी बैठकले जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा जेठ र असार महिनाभर विशेष कार्यक्रमको आयोजना गरी मनाउन सबै जनसंगठनहरुलाई निर्देशन दिएको एमाले केन्द्रीय सदस्य रचना खड्काले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित