बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

रियल मड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा

दैनिक नेपाल २०८१ वैशाख ६ गते ६:५२

काठमाडौं, ६ वैशाख । स्पेनिस क्लब रियल मड्रिड युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ ।

डिफेन्डिङ च्याम्पियन इंग्लिस क्लब म्यान्चेष्टर सिटीलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै सर्वाधिक सफल टिम रियलले अन्तिम चारको यात्रा पक्का पारेको हो । यो पराजयसँगै म्यान्चेष्टर सिटीको एउटै सिजन तीनवटा उपाधि जित्ने लक्ष्य अपूरो भएको छ ।

पहिलो लेगमा ३–३ को बराबरी खेलेका युरोपेली फुटबलका दुई महारथी दोस्रो खेलमा १–१ गोलको बराबरीमा रोकिएपछि सेमिफाइनल पुग्ने टोलीको निर्णय पनाल्टी सुटआउटबाट भएको थियो ।

पेनाल्टीमा बर्नाडो सिल्भा र माटेओ कोभासिचले गोल गर्न नसक्दा सिटीको यात्रा रोकिएको हो । यसअघि १२औं मिनेटमै रोद्रिगोले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए ।

भिनिसियस जुनियरले डिबक्सभित्रबाट दिएको पासलाई रोद्रिगोले दोस्रो प्रयासमा गोल गरेका थिए । ७६औं मिनेटमा केभिन डि ब्रुयनाले बराबरी गरेका थिए । ८१औं मिनेटमा केभिन डि ब्रुयनाले पेनाल्टी एरियाबाट गरेको प्रहार आकाशिँदा सिटीले अग्रता लिने राम्रो मौका गुमाएका थिए । त्यसपछि दुबै टिमले गोल गर्न नसक्दा खेल पेनाल्टीमा गएको हो ।

च्याम्पियन्स लिगको सबैभन्दा सफल टिम रियल मड्रिडले १४ पटक उपाधि जितिसकेको छ भने म्यान्चेष्टर सिटीले गत सिजन पहिलो उपाधि जितेको हो ।

अब रियल मड्रिडले सेमिफाइनलमा जर्मन प्रतिद्वन्द्वी बायर्न म्युनिकको सामना गर्नेछ । जोसुवा किम्मिचको दोस्रो हाफको गोल निर्णायक बन्दा बायर्नले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

पहिलो लेगमा २–२ गोलको बराबरी भएको दुई टोलीबीच म्युनिकमा भएको दोस्रो लेगमा किम्मिच नायक बने ।

प्रतिक्रिया
सम्बन्धित