१२ असार २०८३, शुक्रबार

गलत बुझाइको भाष्य चिर्न नेतृत्व गम्भीर हुनुपर्ने समय आयो : गगन थापा

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ वैशाख । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गर्नुभएको छ । निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उहाँले बताउनुभयो ।

राजधानीको नयाँ बानेश्वरमा बुधबार शताब्दी पुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरु विदेश पलायन हुनुभन्दा उनीहरुले नेपालीपन बिर्सनु डरलाग्दो स्थिति भएको बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हाम्रा केटाकेटीहरु देश छोडेर जान लागे भन्ने कुरा डरलाग्दो होइन, किनकि हाम्रा बाहरु अवसर खोज्नकै लागि सोलुखुम्बुबाट काठमाडौं आएका थिए भने हाम्रा दाजुभाई दिदीबहिनीहरु पनि अवसर खोज्न पखेटा लगाउने नै भए नि । तर, मुख्य कुरा भनेको चाहिँ यो माटोसँग, यो जमिनसँग, यो हाम्रो आफ्नो ठाउँसँग अस्तित्वसँग, प्रतिष्ठासँग मान्छेहरु विस्तारै भाग्न थालेका छन् ।’

थापाले अहिलेको पुस्तामा नेताहरुले नै देश सखाप र बर्बाद पार्‍यो भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै आजको नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको अवस्थामा टेलिभिजनमा नेतालाई हेरेर सबै सखाप पार्‍यो, सबै बर्बाद भयो भन्ने भाष्य निर्माण गर्न थालिएको छ । जनताबाट अनुमोदित हुँदै आउने जोकोहीलाई शक्ति प्राप्त हुन्छ । त्यो शक्तिलाई नडराइकन, नबिराइकन नचुकीकन जिम्मेवारी निर्वाह गर्नु आजको मुख्य आवश्यकता हो । यस्तो एकमात्र नेता गणेशबहादुर बस्नेतले गरेका छन् ।’

नयाँ पुस्ताका मानिसलाई बस्नेतजस्ता व्यक्तित्वका जीवनी, लेख र पुस्तक निकालेर बताउनुपर्ने भनाइ थापाले राख्नुभयो ।