मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

एमालेले हिरक महोत्सवमा कम्युनिष्ट आन्दोलनका अग्रज व्यक्तित्वहरूलाई आमन्त्रण गर्ने

दैनिक नेपाल २०८१ वैशाख ४ गते २१:१५

काठमाडौं, ४ वैशाख । नेकपा (एमाले)ले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक तथा कम्युनिष्ट पार्टी स्थापनाको ७५औं वर्ष (हिरक महोत्सव) समारोहमा नेपालको कम्युनिष्ट आन्दोलनमा योगदान पर्‍याउनुभएका अग्रज तथा विशिष्ट व्यक्तित्वहरूलाई आमन्त्रण गर्ने भएको छ ।

समारोहलाई भव्यरूपमा सम्पन्न गर्ने सन्दर्भमा पार्टीको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा आज बसेको उपत्यकाका विशेष प्रदेश, सम्पर्क समन्वय कमिटी र भूगोलका तीन जिल्ला कमिटीका अध्यक्षहरूको बैठकमा कम्युनिष्ट आन्दोलनमा योगदान गर्नुभएका अग्रज व्यक्तित्वहरूका साथै उपत्यकाभित्रका विभिन्न तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरू र जनप्रतिनिधिहरूको सहभागिताबारे छलफल भएको हो ।

महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्य र स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालको आतिथ्यमा बैठक बसेको थियो ।

बैठकमा महासचिव पोखरेलले उपत्यकाका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी, उपत्यकाभित्र भूगोलका तीनवटै जिल्ला कमिटीले कार्यक्रममा निर्वाह गर्नुपर्ने भूमिका र जिम्मेवारीका विषयमा निर्देशन दिनुभएको थियो ।

बैठकमा एमाले उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष प्रेमकुमार पराजुली, सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौला, ललितपुर जिल्ला कमिटीका अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुर जिल्ला कमिटीका अध्यक्ष बचन देउजा उपस्थित हुनुहुन्थ्यो ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको उद्घाटन समारोहका साथै पार्टी स्थापनाको हिरक महोत्सव समारोहमा उपत्यकाबाट जिल्ला कमिटीका सबै पदाधिकारी तथा सदस्यहरू, सबै पालिकाका पदाधिकारी र सचिवालयका सदस्यहरू, सबै वडाका पदाधिकारीहरू, सबै जनप्रतिनिधिहरू (प्रतिनिधि सभा/राष्ट्रिय सभाका सदस्यहरू, प्रदेश सभा सदस्यहरू, स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष, प्रमुख/उपप्रमुख, स्थानीय तहका वडाध्यक्ष र सदस्यहरू) सबै जनसंगठनका केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, उपत्यकामा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरू तथा हाल असंगठित रहेका तर पार्टीका पुराना र प्रतिष्ठित व्यक्तित्वहरूलाई सहभागी गराउन सम्बन्धित कमिटीहरूलाई जिम्मा दिइएको कार्यालय सचिव डा.भीष्म अधिकारीले बताउनुभयो ।

एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते तथा पार्टी स्थापनाको ७५वर्ष (हिरक महोत्सव) विशेष समारोह वैशाख १० गते तीन दिन गोदावरीमा आयोजना गरिँदै छ ।

प्रतिक्रिया
सम्बन्धित