मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

आज चैते दशैं पर्व मनाइँदै

दैनिक नेपाल २०८१ वैशाख ४ गते ७:५६

काठमाडौं, ४ वैशाख । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैते दैशैं, शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ ।

चैत्र शुक्ल पक्षलाई ‘वासन्ती नवरात्र’ भनिन्छ र दशैंको नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ । नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्ने गर्छन् ।

चैते दशैंका अवसरमा देवीभागवत तथा चण्डी पाठ गर्ने र शक्तिपीठमा पूजा अर्चना र दर्शन गर्न जाने परम्परा छ । नवरात्रमा शक्तिपीठमा पशुबलिसहित पूजा गर्ने विधान पनि छ । वर्षमा चार वटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व बढी रहेकोले आजका दिन देवीको आराधना गर्ने गरिन्छ ।

काठमाडौंमा भद्रकाली, गुह्येश्वरी, शोभाभगवती, नक्सालभगवती, मैतीदेवी र दक्षिणकालीका साथै काभ्रेपलाञ्चोकमा पलाञ्चोक भगवती, गोरखामा मनकामना, धादिङमा कोटका कालिका, बाँकेमा बागेश्लवरीगायत देशभरका शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीहरु पुग्ने गरेका छन् ।

यस्तै चैते दशैंका अवसरमा आज गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार गण्डकी प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थान सार्वजनिक विदा दिइएकाले यी निकायहरु बन्द रहनेछन् । मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा विदा दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित