मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति दिन राप्रपाको माग

दैनिक नेपाल २०८१ वैशाख ३ गते १९:२८

काठमाडौं, ३ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा घाइते भएर निधन भएका ठाकुरप्रसाद डाँगीलाई सहिद घोषणा गर्न र परिवारलाई क्षतिपूर्ति प्रदान गर्न माग गरेको छ ।

राप्रपाले चैत २७ गतेको काठमाडौं केन्द्रित प्रदर्शनका क्रममा प्रहरीको दमनबाट घाइते भइ छाउनी अस्पतालमा उपचाररत डाँगीको दुःखद निधनले स्तब्ध भएको उल्लेख गर्दै उहाँको निधनले पार्टीलाई ठूलो क्षति भएको बताएको छ ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै संविधान प्रदत्त अधिकारको उपभोग गर्दै शान्तिपूर्ण प्रदर्शनमा उत्रिएकाहरुमाथि भएको प्रशासनिक दमन निन्दनीय रहेको र नागरिकको हत्या गरिनु कायरता र लोकतन्त्रको उपहास भएको उल्लेख गर्नुभएको छ ।

डाँगी राप्रपा बर्दियाको मधुवन नगर कार्यसमितिका संस्थापक अध्यक्ष हुनुहुन्थो ।

प्रवक्ता श्रेष्ठले भन्नुभएको छ, ‘प्रदर्शनमा प्रहरीको अन्धाधुन्ध लाठीचार्ज, पानीको फोहरा र अश्रुग्यास प्रहारबाट चार दर्जन बढी घाइते भएका, ति मध्ये कैयौं घाइते उपचारपछि घर फर्किसकेको र जटिल शल्यक्रिया गर्नुपर्ने छ जना अझै उपचारको क्रममा विभिन्न अस्पतालमा रहेका छन् । प्रहरीको दमन र अश्रुग्यास प्रहारबाट घाइते भएका डाँगीको सैनिक अस्पताल छाउनीमा उपचारका क्रममा सोमबार बिहान निधन भएको हो । डाँगीको निधनबाट पार्टीलाई ठूलो क्षति पुगेको छ ।’

डाँगीको निधनमा शोक प्रकट गर्न राप्रपाले ७७ वटै जिल्ला कार्यालयमा ३ दिन पार्टीको झण्डा आधा झुकाउने र १३ औँ दिनको पुण्यतिथिमा केन्द्रमा र सम्पूर्ण जिल्लामा शोकसभा गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित