सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बाबुरामलाई छाडेर माओवादीमा प्रवेश गरे विश्वदीप पाण्डे

दैनिक नेपाल २०८१ वैशाख ३ गते ९:२५

काठमाडौं, ३ वैशाख । नेपाल समाजवादी पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य (केन्द्रीय सदस्य) विश्वद्वीप पाण्डे माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले खादा र टीकासहित स्वागत गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल हुँदै हाल नेपाल समाजवादी पार्टीमा क्रियाशील सदस्य रहनुभएका विश्वदीपले सोमबार बिहान सामाजिक सञ्जालमार्फत नेसपा छोडेको घोषणा गर्नुभयो ।

उहाँ माओवादीको सशस्त्र युद्धदेखि नै बाबुराम भट्टराईको स्वकीय सचिव हुनुहुन्थो । पछिल्लो समय सरकारमा जाने विषयमा पार्टीमा दुई धार हुँदै विभाजन भएको थियो ।

गत चैत ३ गते नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगा नारायण श्रेष्ठलगायतले पार्टी फुटाएर माओवादी केन्द्रसँग एकता गर्ने सहमति गर्नुभयो । तर, त्यो समय पनि विश्वदीपले बाबुरामकै पक्षमा साथ दिनुभयो ।

पाण्डेले सोमबार बिहान नेसपा पार्टी छोडेको घोषणाको केही घण्टामै माओवादी प्रवेश गर्नुभएको छ ।

नेसपा र माओवादी केन्द्र एक हुनुपर्ने पक्षमा रहेका पाण्डे त्यो सम्भावना नदेखेपछि बाबुरामलाई छोडेर प्रचण्डसँग आइपुग्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित