
लमजुङ, २ वैशाख । नेकपा (एमाले)का उपमहासचिव एवं लमजुङका सांसद पृथ्वीसुब्बा गुरुङले काम गर्ने हो भने सबै कुरा सम्भव रहेको बताउनुभएको छ ।
‘यो मुलुकको विकास हामी आफैले गर्न सक्छौँ, हाम्रो गाउँको विकास हामी आफैले गर्न सक्छौँ । विकास हाम्रै पालामा सम्भव छ ।’ सांसद गुरुङले भन्नुभयो, ‘समृद्धि हाम्रै पालामा सम्भव छ भन्ने कुराको उदाहरण यो घलेगाउँ हो ।’
शनिबार लमजुङको स्मार्ट भिलेज घलेगाउँमा नयाँ वर्षको अवसरमा आयोजित ‘स्मार्ट भिलेज आमन्त्रित सातौँ गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन गर्नुहुँदै प्रमुख अतिथि गुरुङले घलेगाउँले २७ वर्षदेखि गरिरहेको पर्यटन अभ्यासले आज देशकै पर्यटकीय गन्तव्य बन्न घलेगाउँ सफल भएको बताउनुभयो ।

नेपालकै ग्रामिण पर्यटन प्रवद्धन गर्ने पहिलो संस्थापक घलेगाउँ भएको उल्लेख गर्नुहुँदै उहाँले यसको सुन्दरता, व्यवस्थापन र आकर्षणले रघलेगाउँ अहिले संसारभरी प्रसिद्ध बनेको बताउनुभयो ।
गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहनुभएका नेता गुरुङले पर्यटनमा घलेगाउँले गरेको सबैका लागि यो नमूना र आदर्श बनेको उल्लेख गर्नुहुँदै घलेगाउँबासीलाई बधाई दिनुभयो ।
उहाँले आफ्नो गाउँ र देशको विकासका लागि जनताको समर्थन आवश्यक हुने र जनताको एकतालाई शक्तिमा रुपान्तरण गने नेतृत्व भयो भने विकास सम्भव छ भन्ने उदाहरण घलेगाउँ हो भन्नुभयो । घलेगाउँलाई पर्यटकीय गन्तव्य बनाउन प्रेम घलेले गर्नभएको सुरुवात र उहाँलाई यहाँका बासिन्दाले गरेको सहयोगले नै घलेगाउँले सफलता हासिल गरेको चर्चा गर्नुहुँदै गुरुङले घलेगाउँबासीलाई बधाई तथा शुभकामना दिनुभयो ।
उहाँले घलेगाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा घोषणा भएयता स्मार्ट भिलेजमा परिणत भएसँगै घलेगाउँ समृद्धिको यात्रामा अघि बढेको भन्दै खुसी व्यक्त गर्नुभयो । घलेगाउँको समृद्धि यात्रालाई सबैले नजिकबाट बुझ्नुपर्ने र यसको सफलताको यात्रालाई पछ्याउँदै अघि बढ्नुपर्ने बताउनुभयो ।
गुरुङले आफू पनि घलेगाउँको जनताको विकास, समृद्धि यात्रामासँगै खटिरहेको रहेको उल्लेख गर्नुहुँदै आगामी दिनहरुमा पनि साथमै रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । नयाँवर्ष २०८१ को अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले शनिबारबाट सुरु भएको खेलकुद प्रतियोगितालाई सफलताको शुभकामना दिनुभयो ।











प्रतिक्रिया