मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

टी–२० विश्वकपको जर्सी अमेरिकामा बिक्री सुरु

दैनिक नेपाल २०८१ वैशाख १ गते २०:४४

काठमाडौं, १ वैशाख । अमेरिका र वेष्टइन्डिजमा संयुक्त रुपमा हुने आइसिसी टी–२० विश्वकपका लागि नेपाल क्रिकेट संघले केही दिन अगाडी जर्सी सार्वजनिक गरेको थियो । जुनको १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली क्रिकेट टिमले लगाउने जर्सीको अमेरिकी बिक्री अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ ।

केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक बिक्रीको अधिकारका लागि एक्जोबी यूएसएका व्यवस्थापकद्वय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेबीच मेरिल्यान्डको बाल्टिमोरमा सम्झौता भएको हो ।

सम्झौता अनुसार केल्मी नेपालले एक्जोबी यूएसएलाई विश्वकपमा नेपालले लगाउने जर्सीलाई उपलब्ध गराउने छ । जसका लागि केल्मी नेपालले जर्सीलाई अमेरिकासम्म पुर्‍याउने जिम्मा लिएको छ । केल्मी नेपालले पहिलो पटक कुनै पनि खेलकुदको विदेशी अधिकार बिक्री गरेको हो ।

पछिल्लो पटक नेपाली क्रिकेट टिमको बढ्दो क्रेजलाई आत्मसाथ गर्दै विश्वकपमा नेपाललाई समर्थन गर्ने समर्थकले सोही गुणस्तरको जर्सी लगाएर विश्वकप हेरुन् भन्ने मनसायका साथ यो सम्झौता भएको हो ।

जर्सीलाई अनलाइनको माध्यमबाट बिक्री गरिने एक्जोबी यूएसएका व्यवस्थापक सुमन क्षेत्रीले बताउनुभयो । जसका लागि वेबसाइट तयार पारिएको छ भने मूल्य ३९.९९ डलर राखिएको छ ।

नेपालको जर्सी लगाएर विश्वकप हेर्न चाहने अमेरिकामा रहेका समर्थकका लागि यो ठूलो खुसीको विषय रहेको एक्जोबीका व्यवस्थापक क्षेत्रीले बताउनुभयो ।

विश्वकप हेर्नका लागि अमेरिकामा रहेका नेपाली समर्थक निकै उत्साहित रहेका छन् भने जर्सीका लागि पनि सोधखोज गरिरहेका छन् । अब उनीहरूका लागि यो सम्झौताले ठूलो सहयोग हुने अपेक्षा गरिएको छ ।

सम्झौतापछि केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेले क्रिकेटको माध्यमबाट केल्मीलाई अमेरिकामा पनि चिनाउन पाउँदा निकै खुसी लागेको बताउनुभयो । साथै यसले आफूहरूलाई पनि उत्साह थपेको बताउनुभयो । यो सहकार्य भविष्यमा पनि कायम रहने अपेक्षा रहेको बताउनुभयो ।

विश्वकप आउन करिब डेढ महिना भन्दा बढीको समय बाँकी हुँदा राम्रो अनुपातमा जर्सी बिक्री हुने अपेक्षा एक्जोबी यूएसएले गरेको छ ।

नेपाली क्रिकेट टिमले समूह चरणका दुई खेल अमेरिकामा खेल्नेछ भने दुई खेल वेष्टइन्डिजमा खेल्नेछ । जसमा अमेरिकामा नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग डालासको ग्राण्ड पिएरीमा खेल्नेछ भने दोस्रो खेल श्रीलंकासँग जुन ११ मा फ्लोरिडामा खेल्नेछ । समूह चरणका बाँकी दुई खेल वेष्टइन्डिजमा हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित