
काठमाडौं, १ वैशाख । संघीय राजधानी काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि पूर्णकालीन (२४ सै घण्टा) खुला रहने भएका छन् ।
ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलमा शनिबार गरेको कार्यक्रममा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले व्यवसाय चौबिसै घण्टा खुला हुने घोषणा गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गृहमन्त्री लामिछानेले काठमाडौंलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई पूर्णकालीन सञ्चालन गर्ने निर्णय गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘काठमाडौं अलिकति चलायमान क्षेत्र बनोस् भन्नका लागि हामी ठमेल क्षेत्रलाई पूर्णकालीन खुलाउने निर्णय गरेका हौं । सुरक्षाको जिम्मा सरकारले लिनेछ, गृह मन्त्रालयले लिनेछ ।’
देश र समाजलाई उत्कृष्ट बनाउनका लागि नागरिकको रुपमा सबैले कर्तव्यको पालना गर्नुपर्ने उल्लेख गर्दै सुसंस्कृत सहरका रुपमा स्थापित गर्न चाहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विदेशमा हामी फोहोर गर्नुभन्दा पहिले सोच्छौँ तर नेपालमा त्यो पालना गर्दैनौँ । यदि देश र समाज उत्कृष्ट चाहिन्छ भने नागरिकका रुपमा पनि हामीले केही न केही कर्तव्य त पालना गर्नैपर्ने हुन्छ । ठमेललाई ठमेल बनाउन, दरबारमार्गलाई दरबारमार्ग बनाउन हामी जनताबाट जरिवाना तिराएर होइन, सुसंस्कृत सहरका रुपमा अगाडि लिएर जान चाहन्छौँ । संसारका कयौं देश छन् जहाँ थुकेको र कागज पालेको समेत पैसा लाग्छ । पाइला पाइलामा जरिवाना तिराइन्छ । तर, हामी त्यस्तो गर्दैनौँ ।’
नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै उहाँले आउँदो वर्षलाई इमानदारितापूर्वक अगाडि बढाउने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘इमानदारिताका साथ नयाँ वर्षलाई इमानदारिताका साथ अगाडि बनाउने छौँ । राम्रो कति गर्न सक्छौँ थाहा छैन् तर नराम्रो एउटा पनि गर्ने छैनौँ । २०८१ साल केही काम देखिने वर्ष हो । यो वर्ष केही न केही हुनेछ । युवाहरु सरकारमा आउँदा केही न केही परिवर्तन हुँदो रहेछ भन्ने संकेत देखिएको छ । हामी यसलाई कार्यरुप दिनका लागि लागिपरेका छौँ ।’








प्रतिक्रिया