२ श्रावण २०८३, शनिबार

सुन्तला राष्ट्रिय फल घोषणा हुनुपर्ने आधारहरु

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १ वैशाख । सरकारले सुन्तलालाई राष्ट्रिय फलका रुपमा घोषणा गरेपछि यसको महत्वका बारेमा चासो बढेको छ । कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले सुन्तलालाई राष्ट्रिय फल घोषणाका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि शुक्रबार सरकारले राष्ट्रिय फलका रुपमा सुन्तलालाई मान्यता दिएको हो ।

कृषि मन्त्रालयअन्तर्गत राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले अनुसन्धान गरी सुन्तलालाई राष्ट्रिय फल बनाउन मन्त्रालयमा प्रस्ताव गरेको थियो । नेपालमा फलफूलमा सबभन्दा बढी उत्पादन हुने र नेपालको रैथाने फल भएका कारण सुन्तला राष्ट्रिय फल बनेको मन्त्री शाहले जानकारी दिनुभयो ।

देशभर २९ हजार हेक्टरमा लगाइएको खेतीबाट वार्षिक करिब दुई लाख मेट्रिक टन सुन्तला उत्पादन हुने गरेको कृषि मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

६६ जिल्लाध्ये ५८ जिल्लामा सबभन्दा बढी सुन्तला उत्पादन हुन्छ । ४८ जिल्लामा एक सयभन्दा बढी हेक्टरको बगैँचामा सुन्तलाको व्यावसायिक खेती हुने गरेको छ ।

वास्तवमा सुन्तलाले राष्ट्रिय फलका रुपमा मान्यता पाउनुको पछाडि थुप्रै कारणहरु औंल्याउने गरिन्छ । अंग्रेजीमा भाषामा मेन्डारिन ओरेन्ज भनिने सुन्तला चलनचल्तीको भाषामा ओरेन्ज भन्ने चलन छ । नेपालमा परापूर्व कालदेखि नै सुन्तलाको खेती गरिएको र उपभोगमा ल्याइएको पाइन्छ ।

सुन्तला नेपालको रैथाने फल हो र यो एउटा शुध्द प्रजाति हो । यस फलको नाम सुन्तला रहन गएको सम्बन्धमा नेपालको पूर्वी खोटाङ, धनकुटा तथा संखुवासभामा एक रोचक कथन पाइन्छ । जहाँ सुन्तलाका बोटहरु जंगली रुपमा नै पाइन्छन् । कथन अनुसार ती जिल्लाहरुको भिरालो तथा स–साना गह्रा–गह्रा भएका पहाडी क्षेत्रहरुमा सुन्तला फल पाकेको सिजनमा टाढाबाट हेर्दा पहेंलो सुन जस्तै तह–तह (तला–तला) देखिने भएकोले यस फलको नाम सुनको तला अर्थात् सुन्तला रहन गएको र फल मिठो भएकोले मानिसहरुले खेती गर्नका लागि आ–आफ्ना जग्गाहरुमा भित्र्याइएको पाइन्छ ।

यस अर्थमा सुन्तला बाली नेपालमा सदियौँदेखि जंगली रुपमै रहेको र मानिसले पछि मात्र आएर यसको खेती गर्न सुरु गरेको पाइन्छ । नेपालमा पाइने सुन्तलाको स्वाद तथा वास्ना अन्य देशहरुमा पाइने सुन्तलाको भन्दा विशिष्ट किसिमको रहेकोले यसको उत्पत्ति नेपालमा भएको मान्न सकिने आधार देखिन्छ ।

सुन्तलाका बारेमा अध्ययन गरिरहेका पत्रकार राजन काफ्लेका अनुसार सुन्तलालाई नेपालको राष्ट्रिय फल घोषणा पश्चात् अन्तर्राष्ट्रियस्तरमा सुन्तला नेपालको आनुवांशिक स्रोत हो भन्ने आधिकारिक प्रमाण हुनेछ । राष्ट्रिय फल भएपछि सुन्तलालाई थप सम्मान दिइने र जसले गर्दा सुन्तलाको प्रबर्द्धनमा सहयोग पुग्ने बताउनुभएको छ । राष्ट्रिय फलको मान्यता पाएपछि सुन्तलाको अझ बढी अध्ययन, अनुसन्धान, संरक्षण र विकासका कार्यहरु कार्यान्वयन हुने, अन्तर्राष्ट्रियस्तरमा राष्ट्रिय फल बनाएपछि देश तथा फल दुवैको महत्व बढ्ने एवम विश्वव्यापी पहिचान हुने काफ्लेको विश्वास छ ।

राष्ट्रिय फलको मान्यता पाएपछि सुन्तलाको देशव्यापी महत्व बढ्न गई यसको खेती पनि बढ्नेछ जसले गर्दा उत्पादन पनि बढ्ने अध्ययनकर्ताहरु बताउने गर्छन् । त्यसबाट देशको आर्थिक उन्नतिमा थप टेवा पुग्ने अनुमान गरिएको छ ।

नेपालमा कुनैपनि उत्पादनलाई जिआइमा दर्ता नभएको खण्डमा अब सुन्तला जिआइमा दर्ता हुने विश्वास लिइएको छ । नेपालको अधिकांश मध्यपहाडी भेगमा मुख्य आयआर्जनको स्रोत नै सुन्तला भएकोले यस फलले राष्ट्रिय खाद्यय तथा पोषण सुरक्षामा पनि महत्वपूर्ण योगदान समेत पुर्‍याएको छ ।

नेपाल सुन्तलामा आत्मनिर्भर भएपनि त्यसको राम्रोसँग व्यवस्थापन नहुँदा आयात गर्नुपरेको बताइन्छ । सुन्तला नेपालमा तिब्बत, बंगलादेशलगायत देशमा निर्यात हुने गरेको छ, चीनले पनि सुन्तला आयात गर्ने भनी सम्झौता गरेको छ । अन्तर्राष्ट्रिय बजारमा नेपाली सुन्तला मन पराएको छ तर नेपालबाट व्यवस्थित तरिकाले पठाउन नसकिएका कारण पर्याप्त मात्रामा निर्यात नभएको पाइन्छ ।

मौलिकता, सबैभन्दा बढी जिल्लामा उत्पादन, सबभन्दा पुरानो फल, पौष्टिक गुणलगायतका कारणले सुन्तलालाई राष्ट्रिय फलका लागि प्रस्ताव गरिएको सरकारी अधिकारीहरुले बताएका छन् ।