३ श्रावण २०८३, आइतबार

जहाँ नन्द–भाउजुको सम्बन्ध कस्न नयाँ वर्षको दिन सिस्नु हानाहान गरिन्छ

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ वैशाख । २०८१ सालको पहिलो दिन आज देशभर हर्ष र उल्लासका साथ नयाँ वर्ष मनाइँदैछ । ‘चार जात छत्तिस वर्णको फूलबारी’ नेपालमा विभिन्न जातजाती तथा समूदायले आ–आफ्नै तौर–तरिकाले नयाँ वर्ष २०८१ को स्वागत गरिरहेका छन् ।

बैतडीसहित सुदूरपश्चिममा धुमधामका साथ नयाँ वर्षको अवसरमा ‘बिसु’ पर्व मनाइँदै छ । चाडपर्वमा धनी सुदूरपश्चिम प्रदेशका नौ जिल्लामध्ये सात पहाडी जिल्ला (कैलाली र कन्चनपुर बाहेक)मा नयाँ वर्षको दिन बिसु पर्व मनाउने चलन रही आएको छ । चुलोमा पकाएका मिठा परिकार खाने, रमाइलो गर्ने र सिस्नु हानाहान गरेर मनाइँने यस पर्वलाई बिसु, (विस्का) वा विस्पती पर्व पनि भन्ने गरिन्छ । पूजापाठ र आफन्तसँगको भेटघाटको लागि यो पर्व विशेष हुने गरेको छ । बिसु पर्व मनाउनका लागि घरभित्र, घरबाहिर सरसफाइ, लिपपोत गरेसँगै शरीरको सरसफाइलाई समेत मुख्य रूपमा हेरिन्छ ।

बच्चा, बिरामीदेखि वृद्ध सबैले बिसु पर्वको दिन नुहाउनु अपरिहार्य मानिन्छ । यो दिन अरू दिनभन्दा फरक तरिकाले नुहाइन्छ । आफ्ना शरीरका प्रत्येक अङ्गलाई साबुन पानीले मिच्दै काखीको विष (रोग) गयो, घुँडाको विष गयो, घाँटीको विष गयो, तिघ्राको विष गयो, पेटको विष गयो इत्यादि भन्दै सफा पानीले पखाल्दै जानुपर्ने स्थानीय संस्कृतिका जानकार मोहनदेव जोशीले बताउनुभयो । यति भनेर सफासँग स्नान गरेपछि वर्षभरि कुनै रोग र प्रकोपको सामना गर्नु पर्दैन भन्ने जनविश्वास रहिआएको छ ।

सुदूरमा वसन्त ऋतुको रमझम, फूल फुलेर झलमल्ल, खुलेको आकाश, पालुवाको समय, गहुँ पाक्ने समय, जताततै हरियालीबिच नयाँ वर्षको सुरुवातसँगै बिसु पर्व मनाएर रमाइलो गर्ने चलन रहेको छ । बिसुको प्रमुख विशेषता नुहाइसकेपछि शरीरमा सिस्नु लगाउने गरिन्छ । सिस्नुको झन्झनाहटले शरीरमा रहेका रोगव्याधि हट्नुको साथै छालाजन्य रोगहरूबाट छुटकारा मिल्ने, निरोगी बनाउने जनविश्वास रहेको छ । शरिरमा सिस्नो लगाए मनसुनी ज्वरोले नच्याप्ने जन विश्वास छ ।

सिस्नु लगाउनुका साथै जिल्लाभरी घरमै सेलरोटी, खीर, पुरी, माँडा, बटुक, मासुलगायत स्थानीय स्वास्थ्यवर्धक मिठा परिकारहरू पकाएर बिसु मनाइन्छ ।

बिसुमा देवर र नन्दले भाउजुलाई खोजीखोजी पानीमा चोपेको सिस्नु लगाएर रमाइलो गर्ने गर्दछन् । भाउजुसँगै, नन्द, साला, साली, भिनाजु लगायतले समेत पानीमा चोपेको सिस्नो झोसेर बिसु पर्व मनाउने गरिएको बैतडीको दशरथचन्द नगरपालिका–९ का जानकार धर्मराज जोशी बताउँनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, ‘देशभर हर्ष र उल्लासका साथ मनाइने यो पर्वलाई सुदूपश्चिममा आफ्नै तरिकाले मनाउने गरिन्छ । यहाँ खासगरी बैतडी, दार्चुला, बझाङ, बाजुरा, डडेलधुरा, अछाम र डोटीमा देवर–भाउजु, नन्द–भाउजु, साली–भिनाजुहरुले पानीमा हालेको सिस्नो हानाहान खेलेर बिसु पर्व मनाउने गर्दछन् ।’

लामो समयसम्म भेटघाट नहुने र मनमुटाव भइरहने नन्द भाउजूको नातालाई यो पर्वले कसिलो बनाउने विश्वास रहेको जोशीको भनाइ छ । नयाँ वर्ष अर्थात बिसु पर्व मनाउनकै लागि रोजगारीको सिलसिलामा भारतमा रहेका सुदूरपश्चिमेली एक साता अघिदेखि नै घर फर्किने तथा बिहे गरेर गएका छोरी चेलीसमेत माइत जाने चलन छ ।