९ श्रावण २०८३, शनिबार

प्रतिनिधि सभा बैठक बस्दै, कांग्रेसको अवरोध कायमै

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ चैत । संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक आज बुधबार बस्दैछ । सदन अवरोधका कारण मंगलबार सारिएको प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्ने संसद सचिवालयले जनाएको छ । तर, नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारीको रकम अपलचनमा मुछिएको भन्दै उहाँमाथि छानबिन गर्न संसदीय समिति गठन गनुपर्ने माग राख्दै आएको छ । कांग्रेसले संसदीय समिति गठन नगरे सभाको अवरोध नहटाउने स्पष्ट भनेको छ ।

मंगलबार पनि संसदीय समिति गठन गरिनुपर्ने माग राख्दै सदनमा कांग्रेस सांसदहरुले उभिएर विरोध जनाए । सदन अगाडि बढाउने स्थिति नभएपछि सभामुख देवराज घिमिरेले १५ मिनेटपछि बस्ने गरी स्थगित गरेको बैठक कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर आजका लागि सारिएको हो ।

बैठक सञ्चालनका लागि सभामुख घिमिरेले राजनीतिक दलका शीर्ष नेताबीचको मंगलबार बिहान छलफल गरे पनि कुनै निष्कर्षमा पुग्न सक्नुभएन । सदनको अवरोध हटाउन मंगलबार साँझ पनि प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताबीच बैठक बस्यो । तर, सहमती जुट्न सकेन ।

कांग्रेसले आफ्नो अडान कायमै राख्दा आज पनि प्रतिनिधि सभा बैठक सुरु हुने, कांग्रेसले अवरोध गर्ने र सभामुखले बैठक रोक्नुपर्ने स्थिति बन्ने निश्चित जस्तै छ ।

बैठक बस्न सके उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले उत्तर दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेश गर्ने, अर्थ मन्त्री वर्षमान पुनले बैङ्क तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने लगायतका कार्यसूची राखिएको छ ।

Skip This