
काठमाडौं, २५ चैत । गैर आवासीय नेपाली संघ (एनआरएनए) मा डा.बद्री केसी समूहबाट महासचिव हुनुभएका गौरीराज जोशीले अलग्गै संस्था स्थापनामा गर्ने अन्तिम तयारीमा जुटेको बताउनुभएको छ । उहाँले ‘गैरआवासीय नेपाली व्यावसायी संघ’ दर्ताको अन्तिम तयारीमा रहेको बताउनुभएको हो ।
अमेरिका रहनुभएका उहाँले एनआरएनएका अग्रजहरुको गोटी नबन्ने र आफ्नै अस्तित्व निर्माण गर्ने उद्देश्यसहित संस्था दर्ताको अन्तिम तयारी गरिरहेको स्पष्ट पार्नुभयो । ‘हाम्रो उद्देश्य भनेको डायस्पोरामा व्यवसाय गरिरहेका नेपालीहरुलाई एउटै संस्थामा आबद्ध गराउने र नेपालमा लगानी गर्ने नै हो । पहिलो चरणमा हामी अमेरिका, युरोप र अष्ट्रेलियाका नेपालीहरुलाई समेटने छौं । त्यसपछि क्रमशः विस्तार गर्दै लैजाने छौं ।’
सर्वोच्च अदालतको केही दिनअघिको फैसलाले कुमार पन्तको नेतृत्वपछि बनेका सबै कार्यसमिति खारेज गरेपछि असन्तुष्ट बनेका जोशीले हालकै परिस्थितिमा एनआरएनएमा आबद्ध भएर काम गर्ने संभावन नरहेको पनि बताउनुभयो ।
नयाँ संस्थाको सम्पूर्ण तयारी पूरा भएको र केही दिनमै एक समारोहबिच संस्था सार्वजनिक गर्ने बताए । ‘संस्था नेपालमा दर्ता गर्ने छैनौं । विदेशमै दर्ता गर्छौँ । डायस्पोराका नेपाली व्यवसायीहरुलाई संस्थामा आबद्ध गराउँछौ । हक, हित र व्यवसायिक प्रवद्र्धनमा सहयोग गर्छौ । त्यसका अलावा नेपाल सरकारसँगको सहकार्यमा नेपालमा लगानी भित्र्याउन सहयोग गर्छौ,’ उहाँले भन्नुभयो ।
एनआरएनएभित्र चरम राजनीति हावी भएको, एनआरएनएका अग्रज अभियन्ताहरुले प्रयोग मात्र गर्न खोजेको र गोटी बनाउन खोजेकोप्रति उनले आपत्ति जनाउनुभयो । एनआरएनए अभियानबाट विदा लिएको बताउँदै जोशीले केही सिमित ब्यक्तिको रिमोटबाट एनआरएन चलाउन खोजेकाले आफू बाहिर बसेको स्पष्ट पार्नुभयो ।
सर्वोच्च अदालतले बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको इजलासले डा.केसी र आरके शर्माको नेतृत्वमा रहेको छुट्टाछुट्टै समितिलाई अमान्य ठहर गरेपछि एनआरएनएभित्र निराशा बढेको छ । इजलासले १ माघ २०७८ मा एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको छ ।
एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार मानिएका जोशी सन् २००५ देखि एनआरएनए अभियानमा जोडिनुभएको थियो । उहाँ दोस्रो पटक महासचिव बन्नुभएको थियो । अमेरिकामा आईटी क्षेत्रमा सफल व्यवसायी जोशीले नेपालमा इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा लगानी गर्नुभएको छ ।









प्रतिक्रिया