मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

पहाडमा मूल्यवृद्धि सबैभन्दा बढी

दैनिक नेपाल २०८० चैत २३ गते ६:३३

काठमाडौं, २३ चैत । नेपालको पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ । बिहीबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको आठ महिनाको वित्तीय विवरणमा पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.१९ प्रतिशत रहेको हो ।

त्यस्तै काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४..४२ प्रतिशत रहेको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिको मुद्रास्फीति काठमाडौं उपत्यकामा ७.९५ प्रतिशत, तराईमा ७.५० प्रतिशत, पहाडमा ६.६७ प्रतिशत र हिमालमा ८.०७ प्रतिशत रहेको थियो ।

गत फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१० प्रतिशत रहेको थियो । सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ ।

त्यस्तै यो अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७।११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ११।७९ प्रतिशतले घटेको छ ।

त्यसैगरी यो अवधिमा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.१५ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया
सम्बन्धित