
काठमाडौं, २२ चैत । बेलायती पुस्तक ‘कुकुल्याण्ड’ ले व्यापारी अजय सुमार्गीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आशीर्वाद र सहयोगमा कसरी अर्बपति भए भन्ने विषयमा सनसनीपूर्ण खुलासा गरेको छ ।
बेलायती पत्रकार टम बरजिसको नयाँ पुस्तक ‘कुकुल्याण्ड’ले नेपालको टेलिकम क्षेत्रमा भएको भ्रष्टाचारमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष ‘प्रचण्ड‘ समेत संलग्न रहेको खुलासा गरेको हो । केही साता अघि मात्रै बजारमा आएको यो पुस्तकमा प्रधानमन्त्री प्रचण्डको नाम नेपालमा भएको टेलिकम अनियमितता र भ्रष्टाचारका विभिन्न प्रसंगहरूमा उल्लेख छ । कुकुल्याण्डमा प्रचण्डका घरबेटी, व्यवसायी अजेयराज सुमार्गी, निजी टेलिकम कम्पनीहरू र पूर्वराजा ज्ञानेन्द्र शाहका ज्वाईंको संलग्नतासमेत उल्लेख गरिएको छ । यसमा उहाँहरूबीच भएको टेलिकम कारोबार र अनियमितताको विस्तृत विवरण समावेश रहेको छ ।
पुस्तकले माओवादी र टेलिकम कम्पनीहरूको सम्बन्ध पनि देखाएको छ । १६ हजार नेपालीको ज्यान लिने सशस्त्र युद्धपछि सन् २००६ मा भएको सडक आन्दोलनले ज्ञानेन्द्रको निरंकुशता असफल बनाएको र स्वाभाविक रूपमा सत्ताच्यूत भएपछि राजदरबारको प्रभावमा कमी आएको समावेश गरेको छ ।
पुस्तकमा माओवादीसँग नजिक हुन सुमार्गीले के के गर्नुभयो ? भर्खरै युद्ध गरेर काठमाडौं आएका प्रचण्डलाई सुमार्गीले उहाँको लागि आवश्यक सबै बन्दोबस्त मिलाएको, बस्ने बास दिएको, राम्रो ब्रान्डको ह्विस्की खुवाएको प्रसंगहरू पुस्तकमा छन् । प्रचण्डलाई रक्सीको स्वाद मन परेको र उहाँका लागि सुमार्गीले रक्सीको खोलो नै बगाएको प्रसंग पुस्तकमा उल्लेख छ ।
पुस्तकमा युद्धका बेला ‘बैंक लुटपाटमा संलग्न भएका’ माओवादीले त्यसपछि नक्कली लडाकुको नाममा पैसा जम्मा गरेको चर्चा गरिएको छ ।
पुस्तकमा कसरी उच्च राजनीतिक व्यक्तित्वहरू पनि व्यापारीहरूको प्रभावमा परेका थिए भन्ने विषय समावेश छ ।
कुकुल्याण्ड मोहम्मद अमेर्सी जस्ता टेलिकम विचौलियाहरूको अवैध कारोबार बारे केन्द्रित पुस्तक रहेको छ ।
सुमार्गीको अपत्यारिलो आर्थिक हैसियत परिवर्तनप्रति सबैले शंका गरिरहेको बेला माओवादीले उहाँलाई कालो धनतर्फ धकेलेको र त्यहीबेला उहाँको भेट ‘भविष्यका कल्याणकारी’ मोहम्मद अमेर्सीसँग भएको पुस्तकमा उल्लेख छ । पुस्तकका अनुसार सुमार्गीले पछि उहाँलाई प्रचण्डसँग भेट गराउनुभएको थियो ।
बरजिसले अमेर्सीसँग अन्तर्वार्ता लिने क्रममा आफूसहित टेलियासोनेराका कार्यकारी प्रमुख लार्स नेइबर्ग र उहाँका दुई जना विश्वासपात्र अनि एक जना धनी नेपाली साझेदारले नेपाली प्रधानमन्त्री प्रचण्डसँग भेटेको प्रसंग पुस्तकमा उल्लेख गर्नुभएको छ ।
भेटमा प्रचण्डले उहाँहरूलाई सबैभन्दा ठूलो करदाताको रूपमा स्वागत गरेको र वैदेशिक लगानी गर्न आह्वान गरेको प्रसंग पनि उल्लेख छ ।
पत्रकार बरजिसले पुस्तकका लागि अधिकांश समय अफ्रिका र एसियाली मुलुकहरूमा गएर नै अनुसन्धान गर्नुभएको थियो । बरजिस युद्ध सरदार, संगठित अपराध, अवैध व्यापार र कालो धनका बारेमा केन्द्रित भएर रिपोर्टिङ गर्नुहुन्छ ।








प्रतिक्रिया