
पोखरा, २१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिनुहुनेभएको छ ।
नेकपा (माओवादी केन्द्र)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका मुख्यमन्त्री पाण्डेले मंगलबार अपराह्न ३ बजेसम्ममा विश्वासको मत माग्नका लागि प्रदेश सभा सचिवालयमा सूचना पठाई सक्नुपर्ने समय थियो तर उहाँले प्रदेश सभा सचिवालयलाई सूचना दिनुभएको छैन् ।
मुख्यमन्त्री पाण्डेले राजीनामा दिएर नयाँ सरकार बनाउने दाबी गर्ने रणनीति बनाउनुभएको छ ।
विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएर मार्ग प्रशस्त गर्ने तयारीमा रहनुभएका मुख्यमन्त्री पाण्डेले त्यसपछि बन्ने नयाँ सरकारमा पनि दाबी गर्ने तयारीमा हुनुहुन्छ । मुख्यमन्त्री पाण्डे पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने रणनीतिमा रहनुभएको छ ।
६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन् ।
गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ । अहिलेको समीकरणमा राप्रपा, दिपक मनाङेको मत पाएर पनि बहुमत पुग्दैन । मुख्यमन्त्री पाण्डेले माओवादीको चुनाव चिन्हमा विजयी हुनुभएका नेपाल समाजवादी पार्टीका फडिन्द्र देवकोटाको समर्थन लिने प्रयास गरिरहेको बुझिएको छ ।








प्रतिक्रिया