बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

राजीनामा दिने तयारीमा गण्डकीका मुख्यमन्त्री

दैनिक नेपाल २०८० चैत २० गते १०:०२

पोखरा, २० चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज राजीनामा दिने तयारी गर्नुभएको छ ।

दुई दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा रहनुभएका पाण्डेले विश्वासको मत पाउने अवस्था नदेखेपछि आजै राजीनामा दिने तयारी गरेको उहाँ निकट स्रोतले जनायो ।

नेकपा (माओवादी केन्द्र)ले पाण्डेलाई दिएको समर्थन गत फागुन २३ गते फिर्ता लिएको थियो । सरकारमा सहभागी कुनै दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

गण्डकी प्रदेश सभा नियमावलीको नियम १५० अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन दुई दिनअगाडि नै सूचना संसद सचिवालयलाई दिनुपर्छ । तर मुख्यमन्त्री पाण्डेले अहिलेसम्म कुनै सूचना दिनुभएको छैन् । मुख्यमन्त्रीले विश्वासको मत लिने हो भने आज अपराह्नसम्ममा सूचना पठाइसक्नुपर्ने छ ।

मुख्यमन्त्री पाण्डेले अहिलेसम्म विश्वासको मत लिने बारे संसद सचिवालयलाई जानकारी नदिएकाले उहाँले राजीनामा दिने तयारी गरेको स्रोतको दाबी छ ।

उहाँ राजीनामा दिएर पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने तयारीमा लागेको पनि बताइएको छ ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा नेपाली कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का ८ (सभामुखसहित), राप्रपाका २ र स्वतन्त्र सांसद एक जना रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित