
चन्द्रपुर, १८ चैत । नेकपा (एमाले) चन्द्रपुर नगर कमिटीको अधिवेशन यही आउँदो चैत ३० गते हुने भएको छ । एमाले चन्द्रपुर नगर कमिटीको शनिबार बसेको सचिवालय बैठकले अधिवेशन चैत ३० गते गर्ने निर्णय गरेको हो ।
आउँदो चैत २३ गते चन्द्रपुर नगरपालिकाका १० वटा वडामा एकै दिन वडाबाट प्रतिनिधि छनोट गर्ने कार्यक्रम तय भएको छ । नगर अधिवेशनमा करिब २०० प्रतिनिधिको सहभागिता रहने आयोजकले जनाएको छ ।
शनिबार बसेको सचिवालय बैठकले विभिन्न उपसमिति समेत चयन गरेको छ । नगर अधिवेशन भव्यताका साथ सफल पार्नका लागि विभिन्न उपसमिति गठन गरिएको एमाले चन्द्रपुर नगर कमिटीका कार्यवाहक अध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिनुभएको छ ।
प्रतिवेदन तथा प्रतिनिधि व्यवस्थापन समितिको संयोजकमा राजु तिवारी, आर्थिक समितिको संयोजकमा रामसिंहासन यादव, प्रचारप्रसार समितिको संयोजकमा चिरञ्जीवी गौतम, अतिथि सत्कार तथा मञ्च व्यवस्थापन समितिमा लालबहादुर दोङ र रामबहादुर घलान रहनुभएको छ । शनिबार एमाले केन्द्रीय सदस्य उद्धव प्रसाद रेग्मीको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले निर्णय गरेको हो ।
प्रदेश कमिटी सदस्य वीरबहादुर गोले, जित बहादुर विक, एमाले रौतहटका सचिव बाबुराम दाहाल र उपसचिव मुना लामिछाने लगायतको उपस्थितिमा बसेको सचिवालय बैठकले एमाले चन्द्रपुर नगर कमिटीको अधिवेशन भव्यताका साथ सफल पार्ने निर्णय गरेको हो ।
अधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने बताइएको छ ।








प्रतिक्रिया