१४ असार २०८३, आइतबार

एमाले बाराको अध्यक्षमा चार जनाको दावी

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, १८ चैत । नेकपा (एमाले) बाराको ११औं जिल्ला अधिवेशन भोलि चैत १९ गते सोमबारदेखि सुरु हुँदैछ । १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ ।

एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुहुने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदैछ ।

अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिनुभयो ।

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन् ।

एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन् । अध्यक्ष पदका आकाक्षीहरुले अधिवेशनका प्रतिनिधिहरुसँग भेटघाट र मत माग्न सुरु गरिसकेकाछन् ।

यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ ।

अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पूर्वनगरप्रमुख भरत बहादुर भण्डारी, तीन कार्यकाल जिल्ला सचिव हुनुभएका अध्यानन्द पाण्डे, एम समिउल्लाह र एमाले बाराको वर्तमान उपाध्यक्ष टीना सुवेदीले आकांक्षा देखाउनुभएको छ ।

अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पूर्व नगरप्रमुख हुनुहुन्छ । उहाँ एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुनुहुन्छ ।

जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तीन पटक सचिव भइसक्नुभएको छ भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत भइसक्नुभएको छ । उहाँ बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुनुहुन्छ ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित हुनुभएको थियो । उहाँ बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनोट हुनुभएको थियो ।

एमाले बाराको २०७८ सालमा भएको अधिवेशनबाट टीना सुवेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन हुनुभएको थियो । सुवेदी प्रतिनिधि सभाका सभासद तथा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको श्रीमति हुनुहुन्छ ।

यसअघि सर्वसम्मतबाटनै जिल्ला नेतृत्व चयन गरिने बताएतापनि यसपटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ ।

यसअघि एमाले बाराको १०औं जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डे र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीसहित सर्वसम्मत रुपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो ।