२५ जेष्ठ २०८३, सोमबार

दबाब र प्रभावबिना काम गर्न गृहमन्त्रीको निर्देशन

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम, १७ चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि दबाब र प्रभावमा नपरी काम गर्न इलामस्थित सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । इलामस्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका सुरक्षा प्रमुखसँग आज गरिएको छलफलमा उहाँले जनताले अनुभूत गर्ने खालको काम गर्न निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लामिछानेले शान्ति, सुरक्षा तथा सुव्यवस्था कामय राख्न एवं अपराध नियन्त्रणमा कुनै सम्झौता नगर्न निर्देशन दिनुभयो । “तपाईंहरु कोही कसैको दबाब र प्रभावमा नपरी काम गर्नुहोला, कानुन पल्टाउँदा जे भन्छ त्यही गर्नुहोला, कानुबमोजिम काम गर्न गृहमन्त्रीको निर्देशन र आदेश पर्खिरहन पर्दैन”, उहाँले भन्नुभयो, “तपाईंहरुको अबको प्रगति विवरण कागजमा होइन, तथ्याङ्कमा आउनुपर्‍यो ।”

सेवा प्रवाहमा नागरिकको गुनासो नआउने गरी काम गर्न गृहमन्त्री लामिछानेले निर्देशन दिनुभयो । उहाँले पीडितको पक्षमा राज्य छ भन्ने अनुभूत हुनेगरी सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो । “तपाईहरुले कानुनको पालना गराउनुहोस्, कानुनविपरीत काम गर्ने छुट कसैलाई छैन ।” उहाँले भन्नुभयो ।

गृहमन्त्री लामिछानेले आफूहरु जनताका लागि काम गर्न सरकारमा सहभागी भएको उल्लेख गर्दै मन्त्रालय मातहतका निकायले प्रगति विवरण कागजले बोल्ने, मन्त्रीले अनुभूत गर्ने खालको नभई जनताले परिवर्तन भयो भन्ने प्रत्यक्षरुपमा महसुस हुने गरी काम गर्न निर्देशन दिनुभयो । उहाँले सुशासन, सेवा प्रवाह, भ्रष्टाचार नियन्त्रण, लागुऔषध एवं अवैध चोरीनिकासी नियन्त्रणमा विशेष ध्यान दिएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

इलाम क्षेत्र नं २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट औपचारिकरुपमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा सहभागी हुन गृहमन्त्री लामिछाने इलाम आउनुभएको हो । रास्वपाले यस क्षेत्रमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । यसअघि उहाँ आजै किराँत धर्मगुरु आत्मानन्द लिङ्देनलाई भेट्न माङ्सेबुङ–५ लारुम्बा पुग्नुभएको थियो ।