
धनकुटा, १७ चैत । खानेपानी मन्त्री राजेन्द्र राईले धनकुटामा दुई वटा वडा कार्यालय भवन शिलान्यास र एउटा विद्यालय भवन उद्घाटन गर्नुभएको छ ।
विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला धनकुटा आइपुग्नुभएका मन्त्री राईले पाख्रीवास नगरपालिका वडा नं.३ र वडा नं.७ को वडा कार्यालय भवन शिलान्यास र सहिदभूमि गाउँपालिका–४ स्थित कन्यादेवी माध्यमिक विद्यालयको भवन उद्घाटन गर्नुभएको हो ।

पाख्रीवास वडा नं.३ ले कालीमाटी र वडा नं.७ ले होक्से टोलमा वडा कार्यालय भवन निर्माण गर्न लागेको हो । शुक्रबार होक्से टोलस्थित भवन निर्माण स्थलमा इँटा राखेर मन्त्री राईले ७ नं. वडा कार्यालय भवन शिलान्यास गर्नुभयो । ७५ लाखको लागतमा बनाउन लागिएको भवन आगामी असार मसान्तभित्रमा निर्माण सम्पन्न गर्नेगरी भोजपुरको मिडहिल इन्फास्टक्चर प्रा.लि.सँग सम्झौता भएको वडाध्यक्ष देवेन्द्र तामाङले जानकारी दिनुभयो । भवन निर्माण गर्न वडा सदस्य चन्द्रबहादुर तामाङले दुई रोपनी जग्गा निःशुल्क प्रदान गर्नुभएको छ ।
७ नं.को वडा कार्यालय भवन शिलान्यास सकेर वडा नं.३ पग्नुभएका मन्त्री राईले त्यहाँ पनि वडा कार्यालय भवन शिलान्यास गर्नुभयो । स्थानीय हर्कबहादुर राईले निःशुल्क प्रदान गरेको दुई रोपनी क्षेत्रफलको जग्गामा ४४ लाख खर्च गरेर भवन बनाउन लागिएको हो । आगामी असार १० गतेभित्र काम सक्ने गरी काठमाडौंको एमकेए ग्रुप प्रा.लि.ले भवन निर्माणको जिम्मा लिएको वडाध्यक्ष सरोज राईले जानकारी दिनुभयो ।
यसअघि मन्त्री राईले बिहीबार सहिदभूमिको कन्यादेवी माध्यमिक विद्यालयको नवनिर्मित छ कोठे पक्की भवन उद्घाटन गर्नुभएको थियो । विद्यालयमा आयोजित कार्यक्रममा उहाँले शिलालेखको पर्दा उघारेर भवन उद्घाटन गर्नुभयो । ६७ लाखको लागतमा भवन बनाइएको हो । यो विद्यालयमा २६८ जना विद्यार्थी अध्ययनरत छन् ।
गाउँ–गाउँमा विकासले गति लिदैँछ : मन्त्री राई
पाख्रीवास–३ को वडा कार्यालय भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री राईले अहिले गाउँ–गाउँमा विकासले गति लिदैँ गएको बताउनुभयो । तीब्र गतिमा विकास गर्न सरकार लागिपरेको भन्दै मन्त्री राईले विकासलाई गति दिन सरकारमात्र नभएर जनताहरू पनि लागिपर्नुपर्ने धारणा राख्नुभयो ।

पाख्रीवासको खानेपानी समस्या हल गर्न भुल्के खानेपानी आयोजना सफल पार्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री राईले त्यसका लागि लागिपर्न जनप्रतिनिधिसहित सबैलाई आग्रह गर्नुभयो । आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने उहाँको भनाइ छ । खानेपानीको समस्या क्रमश हल गर्दै जाने भन्दै उहाँले धनकुटामा खानेपानीमा मात्र नभएर सडक स्तरोन्नति लगायत अन्य विकास निर्माणका काममा पनि पहल गर्ने बचन दिनुभएको छ ।








प्रतिक्रिया