८ असार २०८३, सोमबार

खराब मौसमका कारण दुई सयभन्दा बढी विदेशी पर्यटक मन्थलीमा रोकिए

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, १७ चैत । विगत तीन दिनदेखि सोलखुम्बूको लुक्लामा मौसममा आएको खराबीका कारणले मन्थलीमा दुई सयभन्दा बढी विदेशी पर्यटक रोकिएका छन् ।

शुक्रबार बिहानदेखि नै उडान नभएपछि लुक्ला जाने पर्यटक हेलिकप्टर चार्टर गरेर सोलुको सुर्केसम्म गएका छन् । कोही पर्यटक मन्थलीबाट सडकमार्ग हुँदै गाडीमा फाप्लु गएको नागरिक उड्डयन प्राधिकरण रामेछापका निमित्त कार्यालय प्रमुख पूजा थापाले बताउनुभयो ।

“सोलुखुम्बूको लुक्ला विमानस्थलमा भिजिबिलिटी कम हुँदा सीता, तारा र समिट एयरका विमान रामेछापको मन्थलीमै होल्ड गरिएको छ”, नागरिक उड्डयन प्राधिकिरण मन्थलीका वरिष्ठ अधिकृत प्रज्ज्वल गुरागाईंले भन्नुभयो ।

केही दिनयता मौसममा आएको खराबीको कारण नियमित सहज उडान हुन सकिरहेको छैन । भिजिबिलिटी कम भएपछि अहिले रामेछाप विमानस्थलबाट हेलिकप्टरले चार्टर उडान गरिरहेको हो ।

गुरागाईंका अनुसार यहाँबाट हेलीले सोलुकै सुर्के उडान गरिरहेको छ । दुईसय जनाभन्दा बढी यात्रु मन्थली मै रोकिएका छन् । मन्थलीमा कुनै समस्या छैन तर लुक्लाको मौसमले समस्या भएको कारण जहाज पठाउन सकिएको छैन । शुक्रबार दिनभर रामेछापको आकाशमा हेलिकप्टरको चार्टर उडान मात्र भएका छन् ।

यही चैत १२ गतेदेखि रामेछाप विमानस्थल (मन्थली–लुक्ला) उडान सुरु भएको थियो । सगरमाथालगायत प्रवेश गर्ने पर्यटक मन्थलीसम्म गाडीमा ल्याएर यहाँबाट उडान हुँदै आएको छ ।