शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

कोटेघाटका एकसय भन्दा बढी स्थानीय एमालेमा प्रवेश

दैनिक नेपाल २०८० चैत १५ गते १५:०४

नवलपुर, १५ चैत । नवलपरासी पूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–३ कोटेघाटका स्थानीय बासिन्दा नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

कोटेघाटका एक सय भन्दा बढी स्थानीयलाई एमाले केन्द्रीय सदस्य तिलक महत सहित एमालेका नेताहरुले स्वागत गर्नुभएको हो । कोटेघाटका अधिकांश स्थानीय यस अगाडी नेपाली कांग्रेसमा आवद्ध हुनुहुन्थ्यो ।

विगतमा सो क्षेत्रका स्थानीयले महसुस गर्न नसकेको विकास अहिलेको स्थानीय सरकार र प्रदेश सरकारका प्रतिनिधि मार्फत भएको भन्दै नेकपा एमालेमा प्रवेश गरेको उहाँहरुले बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य महत सहित लेखा आयोग सदस्य एवम् गण्डकी प्रदेश सभा सदस्य पद्मा जि।सी, पार्टी जिल्ला अध्यक्ष मुक्तिराम पाण्डे, गण्डकी प्रदेशका पूर्व मन्त्री रोशन बहादुर गाहा, संविधान सभा सदस्य जीवन श्रेष्ठ लगायतका नेताहरु कोटेघाट पुग्नु भएको थियो ।

नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले केन्द्रीय सदस्य महतले समृद्ध नेपाल सुखी नेपालीको अभिलासा पुरा गर्न सबै तिनै तहमा एमाले नेतृत्वको सरकारको विकल्प नभएको बताउनु भएको छ । हालको स्थानीय सरकार र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदको पहल र सबै एमाले नेताहरुको प्राथमिकतामा कोटेघाट देखि कुडापानी लगायतको क्षेत्रको विकासका कामहरु तीव्र रुपमा अगाडी बढेको जानकारी दिनुभयो ।

केन्द्रीय लेखा आयोग सदस्य पद्मा जि.सी. श्रेष्ठले आफ्नो जन्मथलो कुडापानी र आसपासको विकासमा आफू सदैव अग्रसर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । आफूसँगै पढेका साथिदेखि आफ्ना छरछिमेकलाई एमालेमा स्वागत गर्न पाउँदा खुसी महसुस भएको उहाँले बताउनुभयो ।

अधिकांश मगर समुदायका स्थानीय उपस्थिति रहेको कार्यक्रममा मगर भाषामा नै सम्बोधन गर्नु भएका गण्डकी प्रदेशका पूर्व मन्त्री रोशन बहादुर गाहाले वर्गिय विभेदको अन्त्य र सबै समुदायको समान अधिकारको पक्षमा वकालत गर्ने पार्टी एमाले भएकाले बताउनुभयो । आदवासी जनजाती, दलित समुदायहरुको हकमा लागि पार्टी स्थापनाकाल देखि नै निरन्तर कार्य गर्दै आएको उहाँले स्पष्ट पार्नुभयो ।

विनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले स्थानीय जनतालाई निर्वाचन पूर्व गरेका अधिकाम्स बाचाहरु पूरा गर्ने चरणमा आफूहरु रहेको बताउनुभयो । भौगोलिक रुपमा विकट यस क्षेत्रका विकास पालिका सरकारको पहिलो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । पार्टी प्रवेश कार्यक्रममा सहभागीहरुले एमालेका नेताहरुसंग आफ्ना अपेक्षाहरु राख्नुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित