शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

गगन थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

दैनिक नेपाल २०८० चैत १५ गते १०:००

नवलपरासी, १५ चैत । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आजदेखि सुरु गर्नुभएको छ । आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गर्नुभएको हो ।

यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट सुरु भएको संवाद यात्रा माघ २२ गते नवलपरासीको गोपीगञ्जमै पुगेर रोकिएको थियो । दोस्रो चरणको संवाद यात्रा आज, भोलि र पर्सी नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ र बाँकेका विभिन्न ठाउँहरूमा हुने कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो ।

महामन्त्री थापाले संवाद यात्रामा स्थानीयसँग छलफल गर्ने र उनीहरुका समस्याहरु सुन्ने गर्नुभएको छ । यात्राका क्रममा आफूले बोल्नेभन्दा पनि स्थानीयका कुरा सुन्ने, विकास निर्माणका कार्यहरुको निरीक्षण गर्ने, स्थानीयको घरदैलोमा पुग्ने थापाको योजना छ ।

सुरुदेखि नै हुलाकी मार्गमा भइरहेको संवाद यात्रा अन्तर्गत आज महामन्त्री थापा नवलपरासीको गोपीगञ्जपछि पट्खौली हुँदै जिल्ला पार्टी कार्यालय पुगेर रुपन्देही प्रस्थान गर्नुहुनेछ ।

आजै रुपन्देहीको धकधही, भैरहवा, जिल्ला पार्टी कार्यालय हुँदै बेथरी सम्म पुग्नुहुनेछ । भैरहवामा उहाँले उद्योग व्यवसायीसँग संवाद गर्नुहुनेछ भने बेथरीमा स्थानीय सरोकारका विषयमा छलफल गर्नुहुनेछ ।

भोलि १६ गते रुपन्देहीको लुम्बिनी बौद्ध विश्वविद्यालयमा प्राज्ञिक अन्तरक्रियाबाट संवाद यात्रा सुरु भई कपिलवस्तु प्रवेश गर्नुहनेछ । थापा नेतृत्वको संवाद यात्रा टोलीले १६ गते नै कपिलवस्तुको लबनी, जिल्ला पार्टी कार्यालय, महाराजगञ्जको पालिका कार्यालय हुँदै चन्द्रौटासम्म संवाद गर्नेछ ।

त्यसैगरी १७ गते बिहान दाङको गोवरडिहामा थारु संवादबाट सुरु हुने संवाद यात्रा जङ्ग्रहवा हुदै बाँके प्रस्थान गर्नेछ । बाँकेमा उहाँले १७ गते सिक्टा सिंचाई आयोजनाको अवलोकन गर्नुहुने र फत्तेपुरमा जनसंवाद गर्नुहुने यात्रामा सँगै रहेका नेविसंघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिनुभयो ।

कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार समुदायमा कांग्रेस अभियान अन्तर्गत नै महामन्त्री थापाले यो संवाद यात्रालाई निरन्तरता दिनुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित