२२ असार २०८३, सोमबार

पार्टीलाई मजबुत र सुदृढ बनाउन नेता कार्यकर्ताहरुलाई पढाउँदै एमाले संखुवासभा

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खाँदबारी, १४ चैत । नेकपा (एमाले) जिल्ला कमिटी संखुवासभाले पार्टी कार्यकर्ताहरुलाई सक्षम र सवल बनाएर तल्लो तहसम्म पार्टीलाई सुदृढ बनाउन खाँदबारीमा दुई दिने अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

नगरपालिकाको सभा हलमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको उद्घाटन एमाले उपमहासचिव प्रदीप ज्ञावलीले गर्नुभएको छ । पार्टी अध्यक्ष खड्ग राईको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय नेताहरुको सहभागीता रहेको छ ।

अभिमुखीकरणको पहिलो दिन उपमहासचिव तथा केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीप ज्ञवालीले दशौं राष्ट्रिय महाधिवेशनका कार्यदिशा र समाजवादका आधारहरुको विषयमा सहजिकरण गर्नुभएको छ ।

यस्तै पार्टी शुद्धीकरण र सुदृढिकरणका विषयमा पार्टीका तर्फबाट गर्न पर्ने कार्यहरुबारे एमाले केन्द्रीय संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले सहजिकरण गर्नुभएको छ ।

केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज जीवन घिमिरेले माक्सवाादी विश्व दृष्टिकोण, जिल्ला पार्टी अध्यक्ष खड्ग राईले अभिमुखीकरण पछि गरिने १५ दिने जनअभियानको योजना तथा वार्षिक कार्ययोजना प्रस्तुत गर्नुभएको छ ।

बुधबार पार्टी र जनसंगठनबीचको अन्तरसम्बन्ध र प्रभावकारी परिचालनबारे केन्द्रीय सदस्य तुलसीप्रसाद नेउपाने, स्थानीय तहको विकास र परिचालनमा जनप्रतिनिधिहरुको अगुवाईबारे केन्द्रीय स्थानीय तह विकास विभाग सदस्य मुरारीप्रसाद खतिवडा, जनताको बहुदलीय जनवाद र क्रान्तिका चरणहरुबारे स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र सोसियल मिडियाको प्रयोग र उपयोगमा पार्टी नेतृत्व र कार्यकर्ताहरुको सहभागिताबारे प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य तथा कोशी प्रदेश सहइञ्चार्ज देवेन्द्र कार्कीले सहजिकरण गर्ने कार्यक्रम रहेको अध्यक्ष राईले जानकारी दिनुभयो ।

कोशी प्रदेशमा १४ जिल्ला मध्य सबै भन्दा अगाडि जिल्ला अधिवेशन गरेको संखुवासभाले पहिलो पटक जिल्ला कमिटी र माथिल्लो कमिटीका नेता कार्यकर्ताहरुलाई अभिमुखीकरण कार्यक्रम गरी टोलटोलमा संगठन सुदृढीकरण र सदस्यता नवीकरणमा खटाउन लागेको हो । १५ दिने पार्टी निर्माण अभियान सञ्चालन गरिने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।