
उदयपुर, १४ चैत । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पैसाका कारण योजनाका कामहरु नरोकिने बताउनुभएको छ ।
नेकपा (एमाले) उदयपुरको नवौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मन्त्री महासेठले मुलुकको अर्थतन्त्रमा क्रमिकरुपले सुधार आएकाले अब पैसाका कारण कुनै पनि योजनाहरु रोकिने अवस्था नरहेको बताउनुभयो ।
राज्यको ढुकुटी रित्तिएका कारण व्यवसायिहरुले यसअघि योजनाको काम ठप्प पारेको विषय स्वीकार गर्दै उहाँले एमाले सरकारमा सहभागि हुन साथ मुलुकको अर्थतन्त्रमा व्यापक सुधार आएको स्पष्ट पार्नुभयो ।
‘यसअघि ठेकेदार कम्पनीले काम सम्पन्न भईसक्दा पनि भुक्तानी हुन सकेको थिएन ।’ उपप्रधानमन्त्री महासेठले भन्नुभयो, ‘वर्तमान सरकारको चासो भौतिक पुर्वाधार निर्माणमा नै भएकाले काम गर्ने कुनै पनि व्यवसायिले भुक्तानीमा अल्झन खेप्नु पर्दैन ।’
उहाँले देशको आर्थिक समृद्धिका लागि अहिलेको गठबन्धन सरकार भएको स्पष्ट पार्नुभयो ।
नेकपा (एमाले) केन्द्रीय कमिटीका सचिवसमेत रहनुभएका महासेठले एमालेका कारण देश संकटबाट जोगिएको बताउनुभयो । उहाँले मुलुकको हितका लागि जनताको भावनाअनुसार अहिलेको सत्तासमीकरण भएको स्पष्ट पार्नुभयो ।








प्रतिक्रिया