
काठमाडौं, १२ चैत । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकांक्षीहरुको नाम केन्द्रीय समितिमा पठाएको छ ।
कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकांक्षी उम्मेदवारहरुको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौँ । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ ।’ सभापति थापाले भन्नुभयो ।
कांग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत ७ गते नै आकांक्षी उम्मेदवारहरुको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिनुभयो ।
‘क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले गरेको निर्णयको प्रतिलिपीसहित प्रदेशमा पठाएका हौँ । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनलाई लक्षित गरी जिल्ला सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरु, क्षेत्रीय पदाधिकारीहरु एवम आकांक्षीहरुको उपस्थितिमा जे निर्णय भएको थियो त्यही निर्णयलाई आधार मानेर प्रतिलिपीसहित चत्र ७ गते निर्णय गरेर प्रदेश समितिलाई पठाइसकेका छौँ ।’ सचिव गौतमले भन्नुभयो ।
गत मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उमेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकांक्षीहरुको नाम पठाइएको हो ।
सभापति इदिङ्गोले भन्नुभयो,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौँ । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौँ ।’ त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उहाँले जानकारी दिनुभयो । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उहाँले बताउनुभयो ।
कांग्रेस केन्द्रिय समितिले चैत १५ सम्ममा आधिकारिक उम्मेदवारको नाम टुंगो लगाउने गरी तयारी गरिरहेको छ ।








प्रतिक्रिया