
चितवन, १२ चैत । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रिय सभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेश सभाको सेतुको रुपमा राष्ट्रिय सभाले काम गर्ने उल्लेख गर्नुभयो ।
प्रदेश र स्थानीय तहका भावना, समस्या, जटिलता र सम्भावना राष्ट्रियसभामा विषयवस्तु बनाएर छलफल सुरु गरिसकिएको अध्यक्ष दाहालको भनाइ छ । त्यहाँ छलफल भएका विषयवस्तु प्रतिनिधिसभा हुँदै सरकारसम्म पुग्ने उहाँले बताउनुभयो ।
हरेक महिनाको अन्तिम साता सातै प्रदेशका समस्या र ती समस्या समाधानका विषयमा राष्ट्रिय सभामा छलफल सुरु गरिएको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “प्रदेशका सबै काम कारबाहीका बारेमा सातै प्रदेशबाट प्रतिनिधित्व गर्ने माननीयले कुरा उठाउने व्यवस्था गरेको छु ।”
तीनै तहका सरकारलाई जोड्ने काममा राष्ट्रिय सभाले महत्वपूर्ण भूमिका खेल्नुपर्ने अध्यक्ष दाहालले बताउनुभयो । राष्ट्रिय सभाको महत्व स्थापित गर्न आफू लागि पर्ने उल्लेख गर्दै उहाँले अझै पनि राष्ट्रियसभाको महत्व धेरैले बुझ्न नसकेको बताउनुभयो । राष्ट्रिय सभामा अधिकांश विधयेक सर्वसम्मत पारित हुने गरेको भन्दै उहाँले भन्नुभयो, “राष्ट्रिय सभामा राजनीतिक दृष्टिकोणले नभई राष्ट्र र जनताको दृष्टिले हेरेर छलफल हुन्छ”, राष्ट्रिय सभामा आउने विधेयक लामो समय नरोकिने पनि उहाँले स्पष्ट पार्नुभयो ।
विगत ६ वर्षको अवधिमा राष्ट्रिय सभामा चार विधेयक उत्पत्ति भएको उल्लेख गर्दै अध्यक्ष दाहालले ती सबै सर्वसम्मत रुपमा पारित गरी पठाएको बताउनुभयो । राष्ट्रिय सभामा राजनीतिकभन्दा पनि आवश्यकताका आधारमा छलफल हुने गरेको अध्यक्ष दाहालको भनाइ थियो ।
राष्ट्रिय सभाले राष्ट्रिय महत्व र सार्वजनिक महत्वका विषयलाई प्राथमिकता दिने गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया