
उदयपुर, १० चैत । यही चैत १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले) उदयपुरको नवौँ जिल्ला अधिवेशनको तयारी पूरा भएको छ ।
नवौँ जिल्ला अधिवेशन प्रचार प्रसार उपसमितिले आज (शनिबार) गाईघाटमा पत्रकार सम्मेलनमार्फत अधिवेशनको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।
अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठन र सल्लाहकारबाट ६ सय ३२ जना प्रतिनिधिको छनोट भइसकेको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनुभयो । चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनोट भइसकेको भन्दै अध्यक्ष घिमिरेले छनोट भएर आएका प्रतिनिधिहरुको अभिलेख राख्ने ९५ प्रतिशत भन्दा बढी कार्य सकिएको बताउनुभयो ।
अध्यक्ष घिमिरेका अनुसार नवौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनोट गर्ने तयारी भइरहेको छ ।
‘गतिशिल संगठन, क्रियाशील सदस्य विकासको संवाहक र समाजिक रुपमान्तरणमा नेकपा एमाले’ भन्ने मुल नाराका साथ अधिवेशन सम्पन्न गर्ने एमाले उदयपुरले जनाएको छ ।
अधिवेशनको उद्घाटन पार्टी वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्नुहुने जनाइएको छ ।
पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, उदयपुर सचिव कालुमान लामा, उपसचिव भरत बहादुर थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई लगायतको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया