८ असार २०८३, सोमबार

रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । लेखक रञ्जु दाहालको नयाँ कृति ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको छ । शुक्रबार बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा लेखक दाहालको यात्रा निबन्ध ‘डोहोडोहो डोल्पो’ सार्वजनिक भएको हो ।

शिक्षणलाई मुल पेशा बनाउनुभएकी दाहालको ‘डोहोडोहो डोल्पो’ दोस्रो कृति हो । यसअघि उहाँको यात्रा निबन्ध ‘प्रियसँगको यात्रा’ २०७५ मा प्रकाशित भएको थियो । भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्लाका रुपमा परिचित डोल्पाको १० दिने यात्रापछि लेखिएको यात्रा निबन्ध हो, ‘डोहोडोहो डोल्पो’ ।

यसमा १० वटा यात्रा निबन्ध संग्रहित छन् । यात्रा गरेर लेख्न रुचाउने रञ्जुले डोल्पालाई खुल्ला विश्वविद्यालयका रुपमा चित्रित गर्नुभएको छ । यस यात्रा निबन्धमा डोल्पाको सौन्दर्यसँगै भौगोलिक विकटता, अभाव, दुर्गम क्षेत्रका कठिनाई र जटिलता जस्ता विविध पक्षहरु पढ्न सकिन्छ ।

चर्चित गजलकार बाबु त्रिपाठीले सहजीकरण गरेको ‘डोहोडोहो डोल्पो’ सार्वजनिकीकरण समारोह अन्य कार्यक्रम भन्दा भिन्न रह्यो । मञ्चमा प्रमुख अतिथि, विशिष्ट अतिथि कोही निम्त्याइएका थिएनन् ।

बरु समालोचक तथा साहित्यको टिप्पणीकार राजकुमार बानियाँ, समालोचक ज्ञानु अधिकारी र साहित्यकार भुवनहरि सिग्देललाई सञ्चालक त्रिपाठीले लेखन, यात्रा र साहित्यबारे केही प्रश्न र जिज्ञासा राख्नुभयो ।

‘डोहोडोहो डोल्पो’ कि लेखक दाहालले अन्तिममा बोल्ने मौका पाउनुभयो । उहाँले गुरु निर्मोही ब्यास र भूमिका लेखिदिने साहित्यकार युवराज नयाँघरे, इल्या भट्टराईलाई विशेष धन्यवाद दिनुभयो ।

कार्यक्रम उपस्थित सम्पूर्ण दर्शकहरुलाई उहाँले अतिथि र प्रमुख अतिथिको संज्ञा दिनुभयो । पुस्तक विमोचनकै क्रममा कवि सुदेश सत्यालले ‘डोहोडोहो डोल्पो’ भित्रका कविता वाचन गरेर सुनाउनुभएको थियो ।

‘डोहोडोहो डोल्पो’ लाई समालोचकद्वय राजकुमार बानियाँ, ज्ञानु अधिकारी, गजलकार बाबु त्रिपाठि, साहित्यकार भुवनहरि सिग्देल, भूँडी पूराण प्रकाशनका केशवप्रसाद पराजुली, लेखक रञ्जु दाहाल र पति विजयकुमार उपाध्यायले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । १ सय ५९ पेजको ‘डोहोडोहो डोल्पो’ को मूल्य २ सय ९० रूपैयाँ राखिएको छ ।