
कैलाली, १० चैत । कैलालीको भजनी नगरपालिका–५ स्थित कान्द्रा नदीमा तटबन्ध निर्माण भइरहेको छ । भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको हुलाकी सडकमार्फत झन्डै रु १४ करोडको लागतमा नदी कटान तथा रोकथाम नियन्त्रणका लागि तटबन्ध निर्माण भइरहेको हो ।
बर्खामा नदीले खेतीयोग्य जमिन र बस्ती कटान गर्ने भएकाले त्यसको रोकथाम तथा नियन्त्रणका लागि भौतिक पूर्वाधार मन्त्रालयको बजेटमार्फत कान्द्रा नदीमा तटबन्ध निर्माण भइरहेको हुलाकी सडक आयोजनाका इन्जिनियर प्रमोद चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार कान्द्रा नदीमा एक हजार ८५ मिटर तटबन्ध निर्माणको काम भइरहेको छ । सो नदीमा तटबन्ध निर्माणको काम अन्तिम चरणमा पुगेको उहाँले जानकारी दिनुभयो । कान्द्रा नदीमा तटबन्ध निर्माणका लागि चालु आर्थिक वर्ष २०८० वैशाख १४ गते अकेला अट्लान्टिक एलआई जेभी निर्माण कम्पनीसँग १८ महिनाभित्र काम सम्पन्न गर्ने गरी रु १३ लाख ७५ हजारमा ठेक्का सम्झौता भएको इन्जिनियर चौधरीले बताउनुभयो ।
निर्माण कम्पनीले २०८१ असोजभित्रै सम्पन्न गर्ने गरी तटबन्धको काम गरिरहेको इन्जिनियर चौधरीले जानकारी दिनुभयो । उहाँले कान्द्रा नदीमा तटबन्धको काम अहिलेसम्म ६० प्रतिशत सम्पन्न भइसकेको जनाउनुभयो । सो नदीले बर्खायाममा बर्सेनि सयौँ हेक्टर जमिन कटान गर्दै आएकामा तटबन्ध कार्यक्रमले नदी कटान तथा रोकथाम नियन्त्रणमा सहयोग पुग्ने जनाइएको छ । वर्षाका बेला कान्द्रा नदीबाट हुने सम्भावित क्षति रोक्न तटबन्ध निर्माण प्रभावकारी हुने जनाइएको छ ।
हुलाकी सडकअन्तर्गत धनगढी–टीकापुर खण्डमा पर्ने उक्त सडकमा नदी कटानकै जोखिमका कारण कालोपत्र नगरिएको हुलाकी सडक आयोजना कार्यालयले जनाएको छ । बर्खायाममा बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्याउँदै आएको छ ।
हुलाकी सडक योजना कार्यालयले धनगढीको मोहनापुलदेखि टीकापुरसम्मको मुख्य हुलाकी सडकको ६८ किलोमिटरमध्ये लालबोझीस्थित कान्द्रा नदी क्षेत्रको पाँच सय मिटर सडक कालोपत्र गरेको छैन । कान्द्रा नदीमा तटबन्ध सम्पन्नपश्चात् हुलाकी सडक कालोपत्र गर्ने योजना रहेका आयोजना कार्यालयले जनाएको छ । तटबन्धसहितको सडक बने स्थानीयका घर र खेतबारी नदी कटानबाट जोगिनेछन् ।








प्रतिक्रिया