
काठमाडौं, ९ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरालाई शुक्रबार हाजिर जमानीमा छाड्ने तयारी भएको छ । बुधबार र बिहीबार दुई दिनमा महरासँगको बयान सकिएकाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जनाएको छ ।
सीआईबी अनुसार आज उहँलाई हाजिर जमानीमा छाड्ने या म्याद थप गर्ने निर्णय हुनेछ । यद्यपि उहाँको स्वास्थ्य अवस्थाका कारण हाजिर जमानीमा छाड्ने तयारी भएको बताइएको छ ।
उहाँलाई बयानपछि नर्भिक अस्पतालमै भर्ना गरिएको छ । बयान लिने क्रममा डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिन जारी रह्यो । बयानका क्रममा महराको स्वास्थ्य अवस्था नाजुक भएको अनुसन्धान अधिकृतको भनाइ छ ।
स्वास्थ्य अवस्था कमजोर रहेकाले पनि अनुसन्धान अधिकृतलाई प्राप्त अधिकार प्रयोग गरेर हाजिर जमानीमा छाड्न लागिएको हो ।
गत चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ हुनुभएका महरामाथि बुधबारदेखि बयान लिन सुरु भएको थियो ।
गत साउन २ गते ‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप) मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको थियो । सोही प्रकरणमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसक्नुभएको छ । राहुल हाल पुर्पक्षका लागि थुनामा हुनुहुन्छ ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्यको अध्यक्षतमा गठित सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी गठित जाँचबुझ आयोगले घटनामा संलग्न रहेको भन्दै महराविरुद्ध थप अनुसन्धान गरी मुद्दा चलाउन सिफारिस गरेको थियो । सोही सिफारिसपछि उहाँलाई सीआईबीले पक्राउ गरेको थियो ।









प्रतिक्रिया