
उदयपुर, ९ चैत । नेकपा (एमाले) उदयपुरले यही चैत १३ र १४ गते हुने नवौं जिल्ला अधिवेशनको तयारी तिब्र पारेको छ ।
आसन्न जिल्ला अधिवेशनको लागि ७५ वटा वडा र २३ वटा जनसंगठनबाट ६ सय ३ जना प्रतिनिधि छनोट सम्पन्न भइसकेको उपसचिव भरतबहादुर थापाले बताउनुभयो । ‘चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनोट भइसकेको छ ।’ उपसचिव थापाले भन्नुभयो, ‘छनोट भएर आएका प्रतिनिधिहरुको अभिलेख राख्ने कार्य भइरकेको छ ।’
अधिवेशन सम्पन्न गर्नका लागि गाईघाट पिपल चौकमा सम्पर्क कार्यालय स्थापना गरेर प्रतिनिधि व्यवस्थापन लगाएतका सबै कार्यहरु सुरु गरिएको छ ।
प्रतिनिधि छनोट बाहेक अधिवेशनको लागि गठन भएका विभिन्न उपसमितिले समेत आफ्नो कार्य प्रारम्भ गरेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन भएको छ ।
बुधबार प्रचारप्रसार समितिको बैठक बसेर नवौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ । प्रचार प्रसार उपसमितिका संयोजक भरत खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशन भर मिडिया डेक्स स्थापना गरेर अधिवेशनको प्रचार प्रसार गर्ने निर्णय गरेको हो ।
प्रचारप्रसार उपसमितिको बैठकले प्रचार उपसमितिमा प्रेस चौतारीमा आबद्ध व्यक्तिहरुलाई थप गर्ने निर्णय गरेको छ । प्रचार प्रसारलाई व्यवस्थित बनाउनको लागि ईश्वरकुमार तामाङ, माधव पोखरेल, अन्जनी अधिकारी, रेणु पराजुली लगाएत १५ जना सदस्यहरु थप गर्ने निर्णय गरिएको संयोजक खड्काले जानकारी दिनुभयो । बैठकले नवौं जिल्ला अधिवेशनको लोगो निर्माण गर्न तुलसीप्रसाद कोइरालाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ ।
अधिवेशनको चैत १३ गते पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने तय भएको जनाइएको छ ।
जिल्ला भर प्रतिनिधि छनोटको कार्य सम्पन्न भएसँगै नेतृत्वमा दाबी गर्ने नेताहरुले सक्रियता बढाएका छन् ।








प्रतिक्रिया