
काठमाडौं, ८ चैत । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राजनीतिक वृत्तमा अराजनीतिक सोच बढेकोप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्नुहुँदै ओलीले राजनीति आलोपालो गरेर पद प्राप्त गर्नका लागि नगरिने प्रष्ट पार्नुभएको छ । ‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ ।’ अध्यक्ष ओलीले फेसबुकमा लेख्नु भएको छ, ‘तर राजनीति अहिले तपाईंको पालो, त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन ।’
नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमानदारीमा भर पर्ने उहाँले प्रष्ट पार्नुभएको छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिने ओलीको धारणा छ । ‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठुलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ–तपाईँको पालो कहिले, उहाँको पालो कहिले ?’ ओलीले लेख्नु भएको छ ।
एमाले राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभएको छ । ‘राजनीतिलाई गुण/दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलो/पालो वा तेरो/मेरोमा आधारित रहेर होइन ।’ अध्यक्ष ओलीले भन्नुभएको छ ।
यस्तो छ अध्यक्ष ओलीको फेसबुक स्टाटसः
हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रुपमा लिन थालिएको छ । तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन । नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्छ । यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिन्छ । आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठूलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ – ‘तपाईंको पालो कहिले, उहाँको पालो कहिले ?’ हामी राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेका छौं । राजनीतिलाई गुण/दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौं, आलो/पालो वा तेरो/मेरोमा आधारित रहेर होइन।








प्रतिक्रिया