२० जेष्ठ २०८३, बुधबार

बैतडीमा कोदालो प्रहारबाट एकको मृत्यु, २ जनाको हेलिकप्टरबाट उद्धार

882
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ८ चैत । बैतडीमा कोदालो प्रहारबाट गम्भीर घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ । दुई घाइतेको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका– ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीको कोदालो प्रहारबाट उनकी ५६ वर्षीया श्रीमती पार्वती धामीको मृत्यु भएको हो ।

कोदालो प्रहारबाट गम्भीर घाइते भएकी पार्वतीको उपचारको लागि स्थानीय स्वास्थ्यचौकीमा पुर्‍याउँदा मृत्यु भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले राससलाई जानकारी दिनुभयो ।

यस्तै गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका– ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्टलाई हेलिकप्टरबाट उद्धार गरिएको छ ।

कलौनी र भट्टलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि कोहलपुर मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ ।

आज बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार गरेको जनाइएको छ ।

किसनले कोदालो प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन ।

कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ ।