
काठमाडौं, ८ चैत । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तानिनुभएका नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरी श्रीलंका प्रस्थान गर्नुभएको छ ।
बाँसबारी जग्गा प्रकरणमा आज बिहान सरकारी वकिल कार्यालयमा बयान दिएपछि चौधरी आजै दिउँसो श्रीलंका प्रस्थान गर्नुभएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार चौधरी दिउँसो १ः५७ को श्रीलंकन एयरलाइन्सको विमानमार्फत श्रीलंकाको राजधानी कोलम्बो जानुभएको हो ।
उहाँ नियमित कामको शिलशिलमा त्यहाँ गएको बताइएको छ ।
आज बिहान चौधरी आफै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को कार्यालयमा पुग्नुभएको थियो । त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उहाँसँग बयान लिइएको थियो ।
हिजो सीआईबीले सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै बाँसबारी जग्गा प्रकरणमा चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
गत आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिनुभएको थियो ।
बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते गरी निजी बनाएको भन्दै सीआईबीले अनुसन्धान गरिरहेको छ ।
यसअघि चौधरीका भाइसमेत रहनुभएका उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेर यो प्रकरणमा अनुसन्धान अघि बढाइएको थियो । तर, उहाँ अदालतको आदेशबाट रिहा हुनुभएको थियो ।








प्रतिक्रिया