
काठमाडौं, ८ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यसपटक पनि दलित समुदायबाट एक जना मन्त्री बनाउने प्रतिबद्धता जनाउनुभएको छ ।
बिहीबार काठमाडौंमा ५९ औं अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले विगतमा पनि पार्टीले दलित समुदायबाट मन्त्री बनाउँदै आएको र यसपटक पनि निरन्तरता दिने बताउनुभएको हो ।

‘अहिले महिलाहरूको उत्थान जागरण धेरै भएको छ र सशक्त भएका छन् । विभिन्न ठाउँमा जिम्मेवारी लिएका छन् ।’ उहाँले भन्नुभयो । महिला, दलित र पछाडि पारिएका समुदायका विषमयमा आफ्नो दल संवेदनशील रहेको बताउनुभयो ।
‘अत्यन्तै संवेदनशील हुँदा यस्तो विषय कहिले कहिले मन्त्री किन भएन भन्ने हुन्छ । यस पटक पनि मन्त्री हुन्छ, एउटा ठाउँ छ त्यहाँ । दलितबाट यस पटक पनि मन्त्री हुन्छ । पहिले पहिले पनि मन्त्री हुने गरेको छ । तर, सबै जाति सबै समुदायबाट सबै सधै नपर्न पनि सक्छन् । सबैलाई एकैपटक सम्बोधन गर्न सकिँदैन ।’ उहाँले भन्नुभयो, ‘पार्टीको माथिल्लो कमिटीमा छविलाल विश्वकर्मा हुनुहुन्छ । उहाँ पटक पटक मन्त्री पनि हुनुभएको छ । अहिले सुदूरपश्चिम प्रदेश इन्चार्ज पनि हुनुहुन्छ । हाम्रो पार्टीमा साथीहरूलाई जिम्मेवारी दिने काम कुनै ध्यान पुगेको छैन भन्ने ठाउँ छैन ।’
उहाँले आफूहरू सामाजिक न्याय र समानताको पक्षमा रहेको भन्दै कुनै पनि समुदाय पछाडि छाडिन नहुने बताउनुभयो ।









प्रतिक्रिया