१६ असार २०८३, मंगलबार

सूर्यदर्शन सहकारी पीडितको निवेदन रोक्न गृहमन्त्री सक्रिय

6.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ चैत । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्बध्द बचतकर्ताहरुको संघर्ष समिति संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा सहयोग माग्न पुगेको छ । संघर्ष समितिले बिहीबार राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई लिखित निवेदन दिएको छ ।

सभापति खतिवडाले पीडित बचतकर्ताको निवदेनप्रति समितिको ध्यानाकर्षण भएको भन्दै यसबारे छलफल हुने आश्वासन दिएको संघर्ष समितिका संयोजकले बताउनुभयो ।

गृहमन्त्री रवि लामिछानेसहित केही व्यक्ति र संस्थाले सूर्यदर्शन सहकारीबाट करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा गरेको भन्दै उहाँहरूमाथि उजुरी परेको हो ।

रकम फिर्ता नपाएपछि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि सहकारीका सञ्चालक गीतेन्द्रबाबु राई (जीबी राई) पक्राउ पर्न नसकेका भन्दै पीडितहरूले राईलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् ।

सहकारीको पैसा गोर्खा मिडिया कम्पनी अन्तर्गतको ग्यालेक्सी टेलिभिजनमा तीसौं करोड रुपैयाँ लगानी भएको देखिए पनि यस विषयमा आर्थिक, नैतिक र व्यावहारिक जिम्मेवारी लिई जवाफ दिनुपर्ने व्यक्तिहरू मौन बनेको भन्दै उनीहरूले आफूहरूले न्याय पाउनुपर्ने बताएका छन् । पीडितहरूले १९ जनालाई किटानी जाहेरी दिएको भएपनि हालसम्म १४ जना पक्राउ पर्न नसकेका बताए ।

त्यस्तै, २०८० साल माघ २२ गते पुरक जाहेरीमार्फत हालका उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा तत्कालीन गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडका प्रवन्ध निर्देशक लामिछानेमाथि पनि उजुरी गरिएको भएपनि छानविन नभएको गुनासो छ ।

गृहमन्त्री लामिछाने पीडित संघर्ष समितिले राज्य व्यवस्था समितिमा निवेदन दिएको थाहा पाएपछि निकै तनावमा परेको थाहा भएको छ । लामिछानेले सभापति रामहरि खतिवडासँग निवेदन अगाडि नबढाईदिन आग्रह गरेको बुझिएको छ । पीडितहरु संसद सचिवालय प्रवेश गरेको थाहा पाएपछि गृहमन्त्री लामिछानेले निवेदन राज्य व्यवस्था समितिले नबुझिदिए हुन्थ्यो भनेर निकै प्रयास गरेको सचिवालय सूत्रले बताएको छ ।

गृहमन्त्री लामिछाने सूर्यदर्शन सहकारीको बचत अपचलनसँग जोडिएर विवादमा पर्नुभएको छ । यही विषयलाई उठाएर नेपाली कांग्रेसले प्रतिनिधि सभामा उनीमाथि छानविनको माग गर्दै विरोध गरिरहेको छ ।

उता, सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताले लामिाछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिइसकेका छन् ।

सूर्यदर्शन सहकारीका पीडितमध्येका एक किरण श्रेष्ठले पीडितको न्यायको लागि राज्य व्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने कामका बारेमा निवेदन बुझाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले निवेदनमा सुशासन समितिले सहकारी समस्याका बारेमा बोल्नुपर्‍यो । सहकारीका समस्या र सहकारी पीडितका पीडा समेत यही राज्यभित्रकै पीडा भएका कारणले सबैले बुझ्नुपर्छ, व्यवस्थीत गर्नुपर्छ भनेका छौं ।’

जीबी राईलाई पक्राउ गरेर निश्पक्ष छानबिन नहुञ्जेलसम्म गृहमन्त्री लामिछानेको नाम सहकारी ठगीमा जोडिरहने उहाँको भनाइ छ ।