
काठमाडौं, ८ चैत । हाल अष्ट्रेलियामा रहेका चन्द्रबहादुर खत्री (राजन केसी)को जीवन रक्षाको लागि उहाँको परिवारले आर्थिक सहयोगको याचना गरेको छ । अष्ट्रेलियाको रोयल डार्विन अस्पतालमा भर्ना भएका बागलुङ नगरपालिका–१३ पैयुँटारका खत्री क्यान्सरबाट पीडित हुनुहुन्छ ।
उहाँलाई तेस्रो चरणको सिग्नेट रिङ्ग सेल कर्सिनोमा (अति छिटो फैलिने किसिमको पेटको क्यान्सर) भएको पुष्टी भए पश्चात परिवारले सहयोगको याचना गरेको हो । उहाँकी श्रीमती परिश्मा जंगमका अनुसार यसअघि उहाँको छोरा किर्तनश्री केसीको ३१ डिसेम्बर २०२३ मा कान्ति बाल अस्पतालमा सात वर्षको कलिलो उमेरमा निधन भएको र हाल श्रीमानको अवस्था जटिल बनेकाले सबैसँग सहयोगको याचना गर्नुभएको हो ।
किर्तनको विगत पाँच वर्षमा दुई पटक मष्तिष्कको शल्यक्रिया (हेमीस्फेरेक्टोमि) गर्दा पनि रेस्मुस्सेन इन्सेफेलाइटिस (स्नायु केन्द्रित रोग)को कारणले निधन भएको थियो ।
परिश्मा चाल्र्स डार्विन विश्वविद्यालयमा अध्ययनरत हुनुहुन्छ । उहाँले आफ्नो परिवारमा परेको चरम बज्रपातको संकटको घडीमा सहयोगको लागि याचना गर्न बाध्य भएको बताउनुभएको छ । खत्रीको उपचारको लागि १ लाख ५० हजार डलर लाग्ने अनुमान गरिएको छ । हाल सम्म ४० हजार डलर जम्मा भैसकेको छ ।
परिश्माले आफ्नो अपीलमा भन्नुभएको छ, ‘एक स्वावलम्बी महिलालाई यसरी हात फैलाएर सहयोगको लागि याचना गर्न निकै कठिन हुँदो रहेछ तर मसंग मेरो श्रीमानलाई बचाउने अरु माध्यम छैन । हामीले हामीसँग भएको लगभग सम्पूर्ण सम्पति पछिल्लो पाँच वर्षमा छोराको उपचारको क्रममा नेपाल र पटक पटक भारतका महंगा अस्पतालहरुमा सकिसकेको हुँदा हाम्रो आर्थिक अवस्थाले मेरो श्रीमानको थप उपचार खर्च जोहो गर्न असम्भव छ ।‘
‘मेरो विद्यार्थी स्वास्थ्य बिमा (बुपा इन्सुरेन्स)ले मेरो श्रीमानको सम्पूर्ण उपचार खर्च नव्यहोर्ने भएको हुँदा उहाँको उपचारमा व्यक्तिगत हजारौ डलर खर्च लाग्छ । उपचारको क्रममा ४ साइकल केमोथेरापी गरी शल्यक्रिया गरी पुनः ४ साइकल केमोथेरापी गर्नुपर्ने योजना मलाई चिकित्सकहरुले जानकारी गराउनु भएको छ ।’ उहाँले भन्नुभएको छ ।
‘हामी श्रीमान श्रीमती दुवैजना अष्ट्रेलियाको ओल्ड एज केर होममा कार्यरत थियौं तर छोराको मृत्यु पश्चात श्रीमानको बिचल्ली अवस्थाको कारण यस विपत्मा काम गर्न सक्ने अवस्था रहेको छैन । किनभने अस्पताल तथा घरमा २४ घण्टा ७ दिननै व्यस्त रहनुपर्ने बाध्यता छ ।’ उहाँले भन्नुभएको छ ।








प्रतिक्रिया