२६ असार २०८३, शुक्रबार

हेटौँडा सिमेन्टको उत्पादन बन्द

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ७ चैत । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै सिमेन्टको उत्पादन आजदेखि बन्द गरेको छ । सो उद्योगले दुई हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत केही यन्त्रको मर्मतसम्भार गरेपछि पुन:सिमेन्टको उत्पादन गर्ने लक्ष्य राखिएको हेटौँडा सिमेन्टले जनाएको छ ।

सो उद्योगमा हालसम्म करिब सवा तीन लाख बोरा सिमेन्टको उत्पादन गरेर मौज्दात रहेको छ । सिमेन्टलाई काठमाडौँसहित अन्य सहरमा पर्याप्तमात्रामा खपत गराउन उद्योगबाट प्राविधिक खटिसकिएको हेटौँडा सिमेन्ट उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले जानकारी दिनुभयो ।

उहाँका अनुसार सो उद्योगमा अहिले एक हजार छ सय मेट्रिक टन कोइला मौज्दात राखिएको र अन्य थप कोइला ल्याउन उद्योगले बोलपत्र आह्वान गरिसकिएको उहाँले जानकारी दिनुभयो । सरकारले विसं २०३३ वैशाखमा हेटौँडाको लामसुरेमा रु एक अर्ब ५० करोडको लागतमा सिमेन्ट उद्योगको स्थापना गरेको थियो ।

सो उद्योगले विसं २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिकरुपमा सिमेन्टको उत्पादन गरी काठमाडौँ, पोखरा, भैरहवा, विराटनगरलगायत विभिन्न सहरको उपभोक्तालाई सिमेन्टको आपूर्ति गर्दै आएको थियो ।

सो उद्योगमा अहिले प्रशासन, लेखा, स्टोर, चुनढुङ्गाखानी र मेसिनको प्राविधिक गरी करिब दुई सय ५० जनाले प्रत्यक्ष रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । सो उद्योग चार दशकदेखि सञ्चालनमा रहेको र उक्त उद्योगका विभिन्न उपकरण जीर्ण भएकाले नियमित उत्पादन गर्न निकै कठिनाइ भएकाले पटकपटक उपकरण बिग्रिएर बन्द हुँदा उद्योगले अहिले आर्थिक सङ्कट व्यहोर्नु परेको उद्योगका महाप्रबन्धक पाण्डेले बताउनुभएको छ ।

उहाँले अब सो उद्योगलाई नयाँ प्रविधिबाट सञ्चालनमा ल्याउन सरकारका विभिन्न निकायसँग अनुरोध गरी उद्योग व्यवस्थापनले हालै प्रधानमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीलाई उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी गराइसकिएको पनि उल्लेख गर्नुभयो ।