
विराटनगर, ७ चैत । नेकपा (एमाले) कोशी प्रदेश कमिटीको मंगलबार विराटनगरमा बसेको प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले आफ्नो सबै शक्ति इलामको उपनिर्वाचनमा केन्द्रीत गर्ने भएको छ । उपनिर्वाचनलाई लक्षित गरेर इलामसँग सिमाना जोडिएका मोरङ, झापा र पाँचथर जिल्लालाई समेटेर विशेष टिम समेत बनाउने निर्णय गरेको एमाले कोशी प्रदेश कमिटीका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
एमालेका उपाध्यक्षसमेत रहनुभएका क्षेत्रको क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवास नेम्वाङको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । आगामी वैशाख १५ गते यो निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि एमाले इलामले स्वर्गीय नेम्वाङकै छोरा सुहाङ नेम्वाङसहित ६ जना आकांक्षीहरुको नाम प्रदेश कमिटी हुँदै केन्द्रीय कमिटीमा पठाउने गरी सिफारिस गरिसकेको छ ।
प्रदेश कमिटी अध्यक्ष खतिवडाले जिल्लाबाट आएको नाममाथि प्रदेश कमिटीको बैठकमा पनि नेताहरुसहित छलफल गरिएको बताउनुभयो । उहाँले अझै आवश्यक छलफल गरेर आकांक्षीहरुको नाम केन्द्रमा पठाइने बताउनुभयो ।

त्यसअघि इलाममा एमालेको संगठन सुदृढिकरणका लागि सदस्यता विस्तारदेखि जिल्ला अधिवेशनसम्मको काम सम्पन्न गरिने जनाएको छ । लगत्तै पार्टीको प्रदेश कमिटी इलाम–२ को उपनिर्वाचनमा केन्द्रीत हुने खतिवडाले बताउनुभयो ।
‘इलामको क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि पार्टीले आन्तरिक तयारी गरिरहेको छ, उपनिर्वाचनमा कसरी सहयोग गर्ने भनेर आजको बैठकमा धेरै छलफल भएको छ ।’ प्रदेश कमिटी अध्यक्ष खतिवडाले भन्नुभयो, ‘सिमाना जोडिएका झापा, मोरङ र पाँचथरबाट टिम बनाउने निर्णय भएको छ, उक्त टिमले आर्थिक, भौतिक र नैतिक सहयोग जुटाउने छ, निर्वाचन क्षेत्र नै प्रदेश कमिटीले नै जिम्मा लिएर परिचालन हुने निर्णय भएको छ ।’
प्रदेश कमिटीको बैठकमा केन्द्रीय कमिटीबाट प्राप्त भएका सर्कुलरहरु सुनाउने काम भएको जनाइएको छ ।
प्रदेश अध्यक्ष खतिवडाले कोशी प्रदेशका सबै जिल्लामा जिल्ला अधिवेशनको तयारी समेत तिब्र गतिमा अघि बढाइएको जानकारी दिनुभयो । त्यसका लागि अहिले पार्टी सदस्यता नविकरणको काम भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला अधिवेशनको मितिहरु तोकिएकोले अधिवेशन सम्पन्न गर्न प्रदेश कमिटीका सदस्यहरुलाई बैठकले जिम्मेवारी तोक्ने काम गरेको जनाइएको छ । साथै प्रदेश कमिटीका विभागहरुलाई पूर्णता दिन जिल्लाबाट सिफारिस माग्ने समेत बैठकले निर्णय गरेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया