
विराटनगर, ७ चैत । बेलबारीका ८ वर्षीय बबिन लिम्बू। उहाँ ६० वर्षीय बमबहादुर लिम्बू र ४५ वर्षीया गीता लिम्बूका छोरा हुनुहुन्छ । उहाँ जम्मा २ कक्षामा पढ्दै हुनुहुन्छ । बमबहादुर र गीताको विवाह कहिले भएको थियो यकिन भइसकेको छैन।
प्रहरीका अनुसार दुबैजनाको यो दोस्रो विवाह थियो। बबिन उहाँहरूका एक्ला छोरा हुनुहुन्छ । बुझ्नमा आएसम्म गीतापट्टीका जेठा श्रीमान् र बमबहादुरकी जेठी श्रीमतीका छोराछोरी हुनुहुन्छ । कति कहाँ छन् सबै खुलेको छैन। गीताको पहिलेको घर धनकुटा हो। बमबहादुरको तेह्रथुम हो भन्ने बुझिएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेज दाहालका अनुसार गीतापट्टीकी पहिलेकी छोरी दमक रहेको पत्ता लागेपछि खबर गरिएको छ । उहाँ प्रहरी कार्यालयमा आइसक्नुभएको छ । बमबहादुरकी जेठीपट्टीका सन्तानको खोजी भइरहेको छ। दाहालका अनुसार बमबहादुर र गीता चार(पाँच वर्षअघि बेलबारी आउनुभएको थियो । उहाँहरू बेलबारी नगरपालिका-१ की निर्मला राईको घरमा भाडामा बस्नुहुन्थ्यो । एक तले भुइँघरमा उहाँहरूले दुई कोठा भाडामा लिनुभएको थियो । घरबेटी निर्मला एउटा कोठामा बस्नुहुन्थ्यो । बमबहादुर र गीता त्यहीँ एउटा घरमा चिया बनाउने तथा मर्चा (जाँड बनाउने कच्चापदार्थ) बेच्नुहुन्थ्यो।
उहाँहरूबीच बेला-बेलामा झगडा परिरहन्थ्यो। एक वर्षअघि गाउँ-समाज बसेर झगडा मिलाइदिएका थिए। ‘श्रीमानले अलि बढी शंका गर्ने गर्दा रहेछन्, त्यसैमा उनीहरूको झगडा हुन्थ्यो भन्ने गाउँलेहरूबाट बुझिन्छ,’ दाहालले भन्नुभयो। बुधबार बिहान राति १:५० तिर इलाका प्रहरी कार्यालय बेलबामा बमबहादुर र गीताका छिमेकी आइपुगे।
आउने स्थानीयले सन्देश बोकेका थिए- ‘गीता र बमबहादुर दुबै रक्ताम्य ढलेका छन्’। यसपछि प्रहरी बमबहादुर र गीता बस्ने घर पुगेको थियो।दाहालका अनुसार बमबहादुर र गीताको झगडा मध्यरातमा परेको हुनसक्छ। त्यो झगडा उत्कर्षमा पुग्दा बमबहादुरले गीतालाई दाउ प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
‘जब गड्डाङगुडुङ गर्यो, बबिनले थाहा पाए, घरबेटी निर्मला घटनास्थलमा पुगेकी थिइन्। त्यतिबेला बबिन कोठाभित्रै थिए,’ दाहालले भन्नुभयो, ‘बमबहादुर गीतालाई प्रहार गरेको दाउले आफ्नो घाँटी रेटिरहेका थिए।’
घरबेटी निर्मला आत्तिनुभयो र हत्तपत्त ढोका खोल्नुभयो डरले लुगलुग काँपिरहेका बबिन् निर्मलासँगै बाहिर छिमेकीसँग हारगुहार गर्न पुग्नुभएको थियो । ‘यो घटना साढे १ बजेतिरको हुनुपर्छ, १:५० मा प्रहरीमा खबर पुगिसकेको थियो,’ मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालले भन्नुभयो।
प्रहरी निरीक्षक दाहालका अनुसार घटनास्थल पुग्दा गीताको शरीरमा जीवित चाल थिएन। बमबहादुर जीवित हुनुहुन्थ्यो । उहाँलाई तत्काल नोबेल अस्पताल विराटनगर लगियो। तर, उपचार प्रारम्भमै उहाँको मृत्यु भयो। प्रहरीले अहिले घटनाको अनुसन्धान गरिरहेको छ। उहाँहरूबीच मध्यरातमा के झगडा भयो खुलेको छैन।
जीवनको उत्तरार्द्धमा बमबहादुरले श्रीमतीको हत्या गरेर बबिनको सहारा खोस्नुभयो । न आफू नै रहनुभयो । रहनुभएको भए पनि उहाँ जेल जानुहुन्थ्यो । बबिन ‘टुहुरा’ हुन्थे। बुवा-आमा दुबै नरहेपछि बबिनको कलिलो बाल्यकाल अनिश्चय बनेको छ। उहाँ अहिले जेठीआमाकी छोरीको काखमा पुग्नुभएको छ ।








प्रतिक्रिया