
सुर्खेत, ७ चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज यामलाल कँडेलले एमाले जनता झुक्याउने पार्टी नभई जनता बुझाउने पार्टी भएको बताउनुभएको छ ।
एमाले गुराँस गाउँकमिटी दैलेखको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले अन्य पार्टीहरु जनता झुक्याउने र पालैपालो गठबन्धनका नाममा जतापनि मिल्ने भएपनि एमालेले भने जनतालाई सत्य कुरा बुझाउने गरेको बताउनुभएको हो ।

‘कांग्रेस जनता झुक्याएर भोट माग्छ’, नेता कँडेलले भन्नुभयो ‘माओवादी सत्ता स्वार्थका लागि गठबन्धनको गाँठो पार्दै हिँड्छ ।’ एमालेले जनताको मनोभावना अनुरुपको काम गरेको उहाँले दाबी गर्नुभयो ।
एमालेले जनताका लागि राम्रो काम गर्ने भएकोले लामो समय सरकारमा बस्न नदिने चलखेल अन्य ढटुवा पार्टीहरुले गर्ने गरेको उहाँको भनाइ छ ।
कँडेलले एमालेले ल्याएको सामाजिक सुरक्षा भत्ता लगाएतका थुप्रै कार्यक्रमले निम्न वर्गका जनतालाई राम्रो प्रभाव पारेको र अन्य राम्रा कामहरु गर्नै बाँकी रहँदा सत्तामा एमालेलाई पुग्नै नदिने र जनता झुक्याउने काम अन्य पार्टीहरुको भइरहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुँदै एमाले कर्णाली प्रदेश उपसचिव रवीन्द्र शर्माले एमाले मात्रै जनताको सुखदुखको पार्टी भएको बताउनुभयो । अधिवेशनमा एमाले दैलेख जिल्ला अध्यक्ष सूर्यबहादुर शाही लगायतले धारणा राख्नुभएको थियो ।













प्रतिक्रिया