
महोत्तरी, ६ चैत । लोकतान्त्रिक समाज पार्टी (लोसपा) नेपालको केन्द्रीय समितिको बैठक महोत्तरीको बर्दिवासमा प्रारम्भ भएको छ ।
नेताहरु जीतेन्द्र सोनल, सर्वेन्द्र सुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गर्नुभएको प्रतिवेदनलाई छलफल गर्ने गरी २ दिनसम्म केन्द्रीय बैठक जारी रहने लोसपा नेपालले जनाएको छ ।

सबै नेताहरुले प्रस्तुत गरेको प्रतिवेदनलाई छलफल गर्न १० वटा समूह निर्माण गरिएको र उहाँहरुले रायसहितको निष्कर्ष दिएपछि प्रारम्भिक चरणको बैठक समापन हुने प्रवक्ता आभाष लाभले जानकारी दिनुभयो ।
बैठकमा केन्द्रीय समितिका ३११ सदस्य मध्ये २०१ जना भन्दा बढी सहभागी भएका छन् । ‘केन्द्रीय पदाधिकारीका ६४ जना भने सबै सहभागी भएका छन्’ प्रवक्ता लाभले भन्नुभयो, ‘७ गतेसम्म चल्ने बैठक निक्कै उपलब्धिमुलक हुने विश्वास गरिएको छ ।’
वरिष्ठ उपाध्यक्षसमेत रहेका जितेन्द्र सोनलले संगठन सुदृढीकरण सम्बन्धि प्रतिवेदन पेश गर्नुभएको छ भने वरिष्ठ सअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले पछिल्लो राजनीतिका अवधारणामा केन्द्रीत हुनुभएको छ । यता रामप्रकाश चौधरीले पार्टीको अन्तरिम विधान बमोजिम गठन भएका २५ वटा भातृ संगठन र शुभेच्छुक ८ वटा संगठन गरी ३३ वटा संगठनको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । अन्य संगठनहरु विधानअनुसार नै पूर्णता पाएता पनि लोकतान्त्रिक निजामति कर्मचारी संघको विषय भने छलफलको लागि अगाडि सारिएको छ ।








प्रतिक्रिया