
काठमाडौं, ६ चैत । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षा बिग्रियो भने भविष्य नै प्रभावित हुने बताउनुभएको छ ।
आज काठमाडौंमा आयोजित राष्ट्रिय शिक्षा पुरस्कार वितरण कार्यक्रममा उहाँले पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा भएको भन्दै गुणस्तरीय शिक्षाको लागि लगानी वृद्धि गर्न आवश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हामीले विकासको कुरा गर्दा पूर्वाधारको पनि मुख्य पूर्वाधार शिक्षा हो । यसलाई मुख्य पूर्वाधार मानेर जनतालाई सर्वशुलभ तरिकाले गुणस्तरीय शिक्षा दिन जुन प्रकारको लगानी गर्नुपर्छ त्यहाँदेखि नै हाम्रो केही कमजोरीहरु छन् । पहिलो प्राथमिक लगानी शिक्षामा हुनुपर्छ किनभने यो क्षेत्र बिग्रियो भने समाज ध्वस्त हुन्छ, अरु भनेको यो वर्ष सडक बनाउन नसके अर्को वर्ष बनाउँदा पनि हुन्छ । तर शिक्षा विग्रियो भने हाम्रो भविष्य मै प्रभाव पर्छ । त्यसकारण शिक्षामा लगानी अहिले जुन अनुपातमा गरिरहेका छौं, त्यसलाई बढाउनुपर्छ ।’
यस्तै, उहाँले भौतिक संरचनाले मात्रै शैक्षिक संस्थाहरु नचल्ने भन्दै शिक्षालाई गुणस्तरीय र जीवन उपयोगी बनाउनु पर्ने बताउनुभयो ।
नेपाली शिक्षा प्रणाली विद्यार्थीहरुलाई मेसिन बनाउने हिसाबको भएको भनेर आलोचना गर्दै उहाँले भन्नुभयो, ‘भौतिक संरचनाले मात्रै हो र शैक्षिक संस्थाहरु चल्ने, अनि गुणस्तरिय शिक्षा भनेको अंग्रेजी बोल्न आउनु र राम्रो अंक ल्याउनु मात्रै होइन नि, हामीले यो परिभाषालाई पनि परिवर्तन गर्नुपर्छ । शिक्षा भनेको जीवन उपयोगी हुनुपर्छ, पूर्ण जीवनको लागि हुनुपर्छ । तर हाम्रो शिक्षा दुईवटा कुरामा केन्द्रीत हुन थालेको छ । हामी कसरी जागिर राम्रो खाएर जीवनयापन गर्ने भन्ने तर्फ केन्द्रीत हुन थालेको छ ।’









प्रतिक्रिया