
प्योङयाङ, ६ चैत । उत्तर कोरियाली नेता किम जोङ उनले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमिर पुटिनलाई बधाई दिनुभएको छ । उहाँले पुटिनलाई दिएको बधाई सन्देशमा रूसी जनताले अटल समर्थन जनाएको उल्लेख गर्नुभएको छ ।
‘रूसी मतदाताहरूले उनीहरूको पुनः निर्वाचित राष्ट्रपतिलाई अटल समर्थन देखाएका छन्,’ बधाई सन्देशमा भनिएको छ, ‘राज्यको प्रमुखको भारी जिम्मेवारीमा तपाई पुनः निर्वाचित हुनु भनेको राष्ट्रको नेताको रूपमा उच्च प्रतिष्ठाका साथ राज्यका गतिविधिहरूमा तपाईंले देखाउनु भएको उत्कृष्ट नेतृत्व र दृढ कार्यकारी क्षमता हो, जसलाइ रूसी जनताको मूल्यवान मत हो ।’
उत्तरी कोरियाली राज्य नियन्त्रित समाचार संस्थाका अनुसार पुटिनको विजयले रुसी मतदाताको रुसी नेताप्रतिको अटल समर्थन र विश्वासको अभिव्यक्ति भएको बताएको उल्लेख गरिएको छ ।
रसिया र उत्तर कोरिया ऐतिहासिक सहयोगी देश हुन तर दुबै विश्वव्यापी प्रतिबन्धको चपेटामा रहेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेको र प्योङयाङले आणविक हतियारको परीक्षण गरेको भन्दै दुवै देश प्रतिबन्ध र नाकाबन्दीको सामना गरिरहेका छन् ।
गत सेप्टेम्बरमा पुटिन र किमले रुसको सुदूर पूर्वमा शिखर सम्मेलन गरेपछि संयुक्त राज्य अमेरिकाले प्योङयाङले मस्कोलाई हतियार उपलब्ध गराउन थालेको दाबी गरेको थियो ।
तर, किमले भ्रमणको क्रममा घोषणा गर्नुभएको थियो कि मस्कोसँगको सम्बन्ध ‘आफ्नो देशको नम्बर एक प्राथमिकता हो ।’ प्योङयाङ युक्रेनमा मस्कोको आक्रमणको कट्टर समर्थक देश समेत हो ।
यसैबीच, गत जुलाईदेखि उत्तर कोरियाले युक्रेनसँगको युद्धका लागि रुसलाई करिब ७ हजार कन्टेनर हतियार पठाएको दक्षिण कोरियाका रक्षामन्त्रीले सोमबार दाबी गर्नुभएको छ ।
केसीएनएका अनुसार किमले आफ्नो सन्देशमा भन्नुभएको छ, ‘तपाईंको ऊर्जावान र सही मार्गदर्शनमा रुसी जनताले देशको सार्वभौमसत्ता र सुरक्षाको विश्वस्ततापूर्वक रक्षा गर्ने उद्देश्यमा विजय पक्कै जित्नेछन् भन्नेमा म पक्का छु ।’
पुटिनले पश्चिमी शक्तिहरूले गैरकानूनी भन्दै तीन दिनसम्म चलेको मतदानमा ८७ प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुभएको थियो ।








प्रतिक्रिया